मधेस सरकारले कार्यकालको ५ बर्ष पुरा गर्दैछ।
एक मधेसी दलले सधैं अर्काको अस्तित्वलाई चुनौति दिई रहदाँ पनि मिलेरै शासन हत्याएका दुई मधेसी पार्टी अहिले ४/५ वटामा टुक्रिएका छन्। यस अघि १२/१४ टुक्रा मिलेर यिनीहरू दुईवटा भएका थिए।
आफु स्वयं र सहकर्मीहरूले बनाएको माओवादीलाई “कछुवाको गतिमा हिडिरहेको” आरोप लगाएका डा. बाबुराम भट्टराईले जसपामा “भ्यागुतो उफ्र्याई” को संभावना देखेका थिए। कुन पार्टीमा जादै छु, यसको हेक्का डा. साहेबले राख्नु भएन। जनयुद्ध ताका भारतको दिल्लीमा सुरेश आले मगर, मातृका यादब र उपेन्द्र यादब पक्रिएका थिए। आले मगर र मातृकालाई भारतीय पुलिसले नेपाललाई हस्तान्तरण गर्यो, जबकि उपेन्द्रलाई केही दिन दिल्ली मै राखेर पछि रिहा गरिएको थियो। पक्राउ गरिएको स्थानमा केही बेर पछि प्रचण्डको पनि आउने कार्यक्रम थियो। यस घटनालाई माओवादीले ठूलो षडयन्त्र देख्यो उपेन्द्रलाई अपराधी। यस घटनाको छानबिन गर्न माओवादी हेडक्वार्टरले डा. बाबुरामको नेतृत्वमा (तेती खेरको नाम लालध्वज) समिति बनायो। यस समितिले उपेन्द्रलाई भारतीय ‘रअ’ को योजनामा काम गर्ने घुसपैठिया ठहर गरी मृत्यदण्ड दिने निर्णय गरेको थियो। तर, समय बदलियो, यही उपेन्द्र नेतृत्वको जसपामा डा. साहेब “भ्यागुतोको उफ्र्याई हुनसक्ने” देख्नु भयो। डा. ले बिर्सनु भयो…पानी खानु मूलको…!

अहिले उपेन्द्रलाई “क्षेत्रीयताको नाममा भोट पाएर सत्ताका लागि केन्द्रमा लम्पसार परेको” आरोप लगाएका छन्-मधेसका ती स्वनामधन्य भगवानलाई। अन्ध भक्तहरूले बहुधा भगवानलाई चिनेकै हुन्नन्। डा. साहेब छुट्टिने तिर लाग्नु भयो, भलो गर्नु भयो। अब नयाँ सोचका साथ भरपर्दो गठबन्धन वा सहकार्य कायम गर्नु होस्।
जे होस, एकले अर्काको प्रतिरक्षा गर्दै उपेन्द्रहरू सत्तामा अविच्छिन्न् रहेको पाँच बर्ष हुदैछ। यस ५ बर्षको इमान्दार मूल्यांकन हुनु पर्दछ। मधेसमा के प्रगति भयो, सुचकांकहरूले बोल्नु पर्दछ।
यस अवधिमा, यता प्रदेशगत #जिडिपी मा मधेस प्रदेश सबैभन्दा तल छ। सबभन्दा बढी बागमती प्रदेश ६.७४% जब कि मधेस प्रदेशको सब भन्दा कम ४.८२ रह्यो।
सातै प्रदेशको तुलनामा मधेस प्रदेशका यौटा पनि जिल्ला पूर्ण साक्षर हुन सकेन। सबै प्रदेश मध्ये सबभन्दा बढी जनप्रतिनिधी उपर यही भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
यस आ.ब.मा सबभन्दा कम बिकाश खर्च #मधेसप्रदेश कै छ। #अख्तियार मुख्यमंत्रीको भान्सा कोठामा छिरेको यही हो। यी सब कृत्यलाई रोक्ने निकाय”जन लोकपाल” सातबटै प्रदेश मध्ये यही मात्र छ। सार्वजनिक जीवनमा भने यस निकायको कुनै गतिविधी देखिन्न्। शायद, मधेसको यो लोकपालले आफ्ना पोषकहरूको फायलहरूलाई तामेलीमा राखेर सेवा पुर्याई रहेको होला। यस्तो अवस्था छ मधेसको। चरित्रमा कालो पोतिएको छ। तर, यिनकै कुर्ता पाईजामा सब भन्दा बढी “टिनोपालबाला सफेदी” देखिन्छ। यहाँका नेताहरू मसिहा भैरहेकै छन्, जनताबाट कुनै प्रश्न छैन।
जनकपुरका बासीहरू गोर्खाली भएका छन्। गोर्खालीसंग आधारभूत रूपमा तीन कुरा जोडिएर आएको इतिहास छः १) खस राज्य, २) नेपाली भाषा र खस भेष अनि ३) हिन्दू धर्म।
मधेसमा, मधेस आन्दोलनको राप तापमा खस आर्यका जस्तै एक जातीय गठबन्धनको बर्चस्व भएकाहरूको शासन छ। हाल मधेसबाट यसलाई ठूलो चुनौति देखिन्न्। जनकपुरका नयाँ गोर्खालीहरू समग्रमा मधेसको आर्थिक उत्थानको साटो भावनात्मक बजारीकरणमा बढी व्यस्त छन्। औपचारिक समारोहहरूमा भाषामा “मैथिली” र भेषमा “पाक”को प्रयोगलाई बढावा दिएर अह्लादित भै जनकपुर पुरै बौलाएको छ। मैथिली भाषा प्रति मधेसी सत्ताको रणनीतिक उपयोगबाट जनक र शिब चौक स्वभावतः खुशी छ। हिन्दू धर्मका बारेमा केही भनिरहनु परेन। के फरक रह्यो त खस-आर्य बर्चस्वको काठमांडू अनि “पान,पाक र मखान” लाई मधेस मुक्तिको पर्याय बनाएका जनकपुरीया मानसिकताका बीच।
यस परिदृश्यको आलोकमा आजको जनकपुरले मधेसको खोजीलाई बलात् रोकेको छ। थोरै अवसरवादीहरूको स्वार्थको समागमले मूल बहसलाई बिषयान्तर गरेको छ। मूल बहस बिकास र प्रगतिको तथ्यमा आधारित हुनुको साटो अरू बैगुणीहरूको प्रायोजनमा केन्द्रीत भएको छ। बहस र मन्थन होस त धरातलीय जरूरतमा होस् !



