रास्वपा बाँकेको ‘र्यापिड एक्सन टिम’ गठन, प्रमुखमा हेमराज बराल चयन संगठन विस्तार र आकस्मिक कार्यलाई तीव्रता दिन नयाँ समिति, उपप्रमुखमा सौरभ कर्माचार्य र सचिवमा हेमन्त थारू
दिनेश ठाकुर नेपालगन्ज, कात्तिक १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके जिल्ला अन्तर्गत ‘र्यापिड एक्सन टिम’ (RAT) को नयाँ समिति गठन गरिएको छ। नवगठित समितिको प्रमुखमा हेमराज बराल चयन हुनुभएको छ भने उपप्रमुखमा सौरभ कर्माचार्य र सचिवमा हेमन्त थारू नियुक्त हुनुभएको छ।
पार्टीको संगठन विस्तार, आकस्मिक कार्यको प्रभावकारी व्यवस्थापन तथा आवश्यक गतिविधिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यले टिम गठन गरिएको रास्वपा नेपालगन्ज नगर समितिका अध्यक्ष नवीन खड्काले जानकारी दिनुभयो।
नवगठित समितिका सदस्यहरूमा राज गोडिया, महेश सहानी, अशोक बी.के., चित्रबहादुर सुनार, दीपक थापा, मानबहादुर सुनार (गोपाल), अफजल सलिम जसगढ र नवीन बुढाथोकी रहनुभएको छ।
समिति गठनसँगै नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले नवनियुक्त पदाधिकारी र सदस्यहरूलाई खादा तथा अबिर लगाएर बधाई ज्ञापन गरेका थिए।
कार्यक्रममा पार्टीले सुम्पिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै जनताका समस्या र आवश्यकताप्रति संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिइएको थियो।नवगठित र्यापिड एक्सन टिमले पार्टीका संगठनात्मक गतिविधिलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउनुका साथै आवश्यकताअनुसार तत्काल परिचालन हुने अपेक्षा गरिएको छ।


