वरिष्ठ पत्रकार, बाम बिश्लेशक नरेन्द्रजङ्ग पीटरको टिप्पणी
वरिष्ठ पत्रकार, बाम बिश्लेशक नरेन्द्रजङ्ग पीटरको टिप्पणी !
( दैनिक नेपालगन्ज ) आज म गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सुप्रिम कमाण्डर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषण सुन्न खुजुरा, बाँके गएँ। पछाडि बसेँ। सुनेँ। फर्किएँ। जनयुद्धताका बाँके र बर्दियाका धेरै साथी कमरेडसँग भेट्न पाएँ। तिनमा माइतीका प्रमोद चौधरी, जीगाउँकी मिरा कार्की, एडेन दाहाल, दिनेशराज शर्मा, सितापुरका वीरबहादुर काउचा, बैजापुरका पट्टु चौधरी, कोहलपुरका बलराम काफ्ले, शेषकान्त र कान्छादाइसँग भेट भयो। सिमलधारीमा मणि अर्याल र पवनसँग पनि भेट भयो। प्रतिकूलका स्मरण फेरि ताजगी भए। 
सपना दुर्घटना भएको म, पार्टीविहीन एउटा अध्येता। इतिहासले मलाई टोक्छ, चिथोर्छ, रक्तमुच्छेल बनाउँछ पनि। भो, भौतिक भेटका कुरा नगरौँ। भाषण सुनेँ। सुप्रिम कमाण्डरलाई नभेटी लुसुक्क फर्किएँ।
झंकारका गीत र संगीतले मोहित पार्थ्यो, तर आजको चिच्याहट र गैर-सांस्कृतिक प्रस्तुतिले निराश बनायो। एउटा कलाकार जब बढी पार्टीकरणमा जान्छ, ऊ ‘ऊ’ रहँदैन। उफ! यस्ता पनि संगीत वा प्रगतिशील गायन हुन्छन्! किन हिजोका झंकार आज रहेनन्? उफ। दुखित भएँ। 
अनि २ विषय सोचें र गमेँ:
१) यस बुढेसकालमा पनि प्रचण्ड कमरेडलाई किन त्यस्तो दुःख दिएका होलान्? एउटा गाविसको पार्टी अधिवेशन उद्घाटन गर्न उनैलाई निम्त्याउनु किन परेको होला? त्यस पार्टीमा अन्य ठूला नेता पनि त होलान्। बाँकेमै पनि २ जना स्थायी कमिटी र ८ जना केन्द्रीय सदस्य छन्। किन अध्यक्षलाई नै धपेडी दिनु परेको होला? किन देशको ३–३ पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्वलाई त्यस्तो टुहरे सभामा उभ्याउनु परेको होला? बुझ्न सकिएन।
२) कमरेड अध्यक्षले त डेढ सय किलोको माला अन्यन्त्र लगाइसक्नुभएको छ। किन यहाँ १० किलोको माला लगाइएको होला? के बाँकेसँग २ सय किलोको माला लगाउने क्षमता नभएकै हो त ? (उहाँकै पेजबाट)



