समुदायमा आधारित बाल संरक्षण संयन्त्र सुदृढीकरणका लागि तीनदिने प्रशिक्षण सम्पन्न
बर्दिया, भदौ २८ गते — सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा “समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण” विषयक तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बाँके युनेस्को क्लब (BUC) द्वारा सञ्चालित कार्यक्रममा स्थानीय सरकार, पालिकास्तरीय बाल अधिकार समिति (CRC), वडा बाल अधिकार समिति (WCRC), नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल तथा धार्मिक सञ्जाललगायत विभिन्न समुदायमा आधारित संरचनाका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो।
प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुर्व्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो।
गम्भीर बाल संरक्षणका घटनालाई समुदायमै अनौपचारिक रूपमा मिलाउने प्रवृत्तिको अन्त्य गर्दै बालमैत्री, गोपनीय, सुरक्षित तथा कानुनी प्रक्रियामार्फत प्रभावकारी संरक्षण सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
प्रशिक्षणको सहजीकरण केशव कोइरालाले गर्नुभएको थियो। त्यस्तै, Safe Future Project का परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजनाका उद्देश्य, सहभागीमूलक अभ्यास तथा CRC र समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका र जिम्मेवारीसम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो।
लामिछानेले बाल अधिकार समिति तथा समुदायमा आधारित बाल संरक्षण संरचना औपचारिक समितिमा मात्र सीमित नभई जोखिम पहिचान, तत्काल प्रतिक्रिया, रेफरल र फलोअप गर्न सक्ने सक्रिय तथा जवाफदेही संयन्त्रका रूपमा विकास हुनुपर्ने बताउनुभयो।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वयसम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रतिनिधिले बालबालिका तथा युवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न साझेदार संस्थासँग सहकार्य गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुनले बालविवाह, लागूऔषध दुरुपयोग तथा मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकार र विकास साझेदार संस्थासँग समन्वय आवश्यक रहेको बताउनुभयो।उहाँहरूले बालविवाहलगायतका घटनालाई स्थानीयस्तरमै मिलाउनेभन्दा कानुनी प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
ठाकुरबाबा नगरपालिका–८ की वडा अध्यक्ष राजा चौधरीले बालबालिकाको संरक्षणलाई सर्वपक्षीय साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। त्यस्तै, बारबर्दिया नगरपालिका–२ का वडा अध्यक्ष रामफेरन थारूले बालविवाहमुक्त वडा घोषणा गरिसकेपछि पनि सचेतना, अनुगमन तथा निगरानीका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय, जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभयो। बालबालिकामाथि हुने हिंसा, बालविवाह, दुर्व्यवहार तथा अन्य जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, समुदाय, सुरक्षा निकाय र साझेदार संस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।


