४ असार २०८३, बिहीबार

अध्यादेश लागू हुने नहुनेमा जसपा नेपालका अध्यक्ष उपेन्द्र मुख्य भुमिकामा

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार १५:५२ मा प्रकाशित

 काठमाडौं । यही २४ माघमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । संसदीय अंकगणितले प्रतिनिधिसभामा अध्यादेश स्वीकार गर्न सरकारलाई प्रष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा सरकारसँग बहुमत छैन ।

प्रतिनिधिसभामा सरकारको पक्षमा कांग्रेस (८८), नेकपा एमाले (७९), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), लोकतान्त्रिक समाजवादी पार्टी (४) र नागरिक उन्मुक्ति पार्टी (४) गरेर १८८ सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा यो दुई तिहाइ बहुमत हो ।

तर, राष्ट्रिय सभामा सरकारसँग बहुमत समेत छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर २७ जना सांसद छन् । यो बहुमत होइन । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई समेत जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ ।

राष्ट्रिय सभा बैठक/फाइल तस्वीर

राष्ट्रिय सभामा रहेका विपक्षी दलहरूको संख्या पनि सत्तारुढ दलकै हाराहारीमा छ । नेकपा माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा छन् ।

जनता समाजवादी पार्टी नेपाल सरकारमा छैन । तर, उसका तीन जना सांसद कतै खुलेका छैनन् । यदि जसपा नेपालका तीन जना सांसद अध्यादेश अस्वीकृत गर्ने पक्षमा खुले भने विपक्षमा रहेका सांसदको संख्या २९ पुग्छ ।

सरकारले २४ माघमा दुवै सभामा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको पार्टीका तीन जना सांसदले साथ दिए सत्ता पक्षको संख्या ३० पुग्छ । यो ५९ सदस्यीय सभामा प्रष्ट बहुमत हो ।

तीन जना मनोनित सांसदमध्ये नारायण दाहाल नेकपा माओवादी केन्द्र समर्थित हुन् । उनले बराबरी मत हुँदा मात्रै निर्णायक मत दिन पाउँछन् । अर्का मनोनीत सांसद बामदेव गौतम कतै खुलेका छैनन् ।

उपेन्द्र यादवको पार्टीका सांसदले विपक्षी दलहरूलाई साथ दिए अध्यादेश अस्वीकृत गर्न बामदेवको साथ आवश्यक हुन्छ । उपेन्द्र यादव नेतृत्वको पार्टीका सांसदले सत्तापक्षलाई साथ दिए बामदेवको मत विना पनि बहुमत पुग्छ । यसकारण गौतमको मत पनि विपक्षी मोर्चाका लागि महत्त्वपूर्ण छ ।

मन्त्रिपरिषद्‍को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

२९ पुसमा थप चार वटा अध्यादेश जारी भयो । २ माघमा अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश गत शुक्रबार दुवै सभामा प्रस्तुत भएको थियो ।

सरकारले यही २४ माघमा दुवै सभामा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् ।

प्रतिनिधिसभा बैठक/फाइल तस्वीर

ध्वनि मत कि मतदान ?

संघीय संसद् सचिवालयका सहसचिव मनोजकुमार गिरीका अनुसार राष्ट्रिय सभामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १६ जना सांसदले विभिन्न ६ वटा अध्यादेश अस्वीकृत गर्न माग गर्दै सूचना दिएका छन् ।

संघीय संसद् सचिवालयका अर्का सहसचिव एकराम गिरीका अनुसार माओवादी, रास्वपा, एकीकृत समाजवादी सहित विपक्षमा रहेका दलका सांसदहरूले प्रतिनिधिसभामा ५० वटा अस्वीकृतको सूचना दर्ता गरेका छन् ।

संसद् सचिवालयका सहसचिव गिरीका अनुसार अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा एक जनाले प्रस्तुत गर्नेछन् । त्यसमाथि समर्थन गर्ने सांसदहरू बोल्नेछन् । त्यसपछि अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना निर्णयार्थ पेस हुनेछ ।

‘सामान्यतया ध्वनि मतका आधारमा यस्तो सूचनामाथि निर्णय गर्ने अभ्यास छ । केही गरी स्वीकृत गर्ने र अस्वीकृत गर्ने पक्षमा बराबरी मत छ भन्ने सभाध्यक्षलाई लागेमा वा कुनै सदस्यले मत यकिन गर्न माग गरे त्यसअनुसारको प्रक्रियामा जानुपर्छ,’ सहसचिव गिरीले अनलाइनखबरसँग भने ।

प्रतिनिधिसभामा सरकारको पक्षमा प्रष्ट बहुमत भएकाले समस्या हुँदैन ।

तर, राष्ट्रिय सभामा सत्तापक्ष र विपक्षमा रहेका दलको सांंख्या बराबरी जस्तै रहेकाले अध्यादेश स्वीकृत वा अस्वीकृतका लागि मतदान माग हुन सक्छ । यस्तो माग हुने वा नहुने भन्ने विषय जनता समाजवादी पार्टी (नेपाल) का तीन जना सांसदको निर्णयमा निर्भर हुनेछ ।

एउटा सभाले अस्वीकृत गरे के हुन्छ ?

संविधानले संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भनेको छ । संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठकमै दुवै सदनमा अध्यादेश पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सनदमा पेस हुने र दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान छ ।

अध्यादेश सम्बन्धी व्यवस्था संविधानको धारा ११४ मा छ । जहाँ संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने भनिएको छ ।

यो पनि पढ्नुहोस

अध्यादेशविरुद्ध प्रतिनिधिसभामा ५० वटा अस्वीकारको प्रस्ताव दर्ता

एउटा सदनले पारित गरेको विधेयक अर्को सदनले अस्वीकृत गरेमा वा संशोधन सहित पारित गरेमा त्यसलाई विधेयक उत्पत्तिकर्ता सदनले स्वीकार गरेर सहज हुन्छ । यस्तो स्वीकार वा अस्वीकार गर्ने निर्णय बहुमत वा सर्वसम्मतबाट हुन्छ ।

अध्यादेश ऐन सरह मान्य हुनेछ । ‘तर त्यस्तो अध्यादेश जारी भएपछि बसेको संघीय संसद्‍को दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ, संविधानको धारा ११४ को २(क) मा उल्लेख छ ।

अध्यादेश राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्छ । निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुन्छ ।

अर्थात, अध्यादेश संसद्‍मा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ । अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनका लागि दुवै सदनबाट स्वीकार हुनुपर्छ । तर, एउटा सदनले अस्वीकार गर्ने र अर्को सदनले स्वीकार गर्ने निर्णय गरेको खण्डमा के हुन्छ भन्ने विषय अन्योल छ ।

राष्ट्रिय सभाका पूर्व सदस्य राधेश्याम अधिकारी अध्यादेश दुवै सदनबाट स्वीकार हुनुपर्छ भन्नेमा अलमल नरहेको बताउँछन् । उनी भन्छन्, ‘अध्यादेश दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रष्ट छ । एउटा सदनले मात्रै अस्वीकार गरे पनि त्यो फेल ठानिन्छ र प्रतिस्थापन विधेयक ल्याउने कुरै हुँदैन ।’

राष्ट्रिय सभाका पूर्व सदस्य राधेश्याम अधिकारी/फाइल तस्वीर

विधेयकको हकमा भने एउटा सदनले पास गर्ने र अर्को सदनले पास नगर्ने भएमा संयुक्त सदन बस्ने व्यवस्था छ । संविधानको धारा १११ ले संघीय संसदको एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाउनुपर्ने भनेको छ ।

एउटा सदनले पारित गरेको विधेयक अर्को सदनले अस्वीकृत गरेमा वा संशोधन सहित पारित गरेमा त्यसलाई विधेयक उत्पत्तिकर्ता सदनले स्वीकार गरेर सहज हुन्छ । यस्तो स्वीकार वा अस्वीकार गर्ने निर्णय बहुमत वा सर्वसम्मतबाट हुन्छ ।

अन्यथा, दुवै सदनको संयुक्त बैठक बसेर निर्णय लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १११ को उपधारा ९ अनुसार दुई प्रकृतिका विधेयक दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिन्छ ।

(क) राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको,

(ख) प्रतिनिधिसभाले संशोधन सहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको ।

यी दुई प्रकृतिका विधेयकमाथि निर्णय गर्न २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभाको संयुक्त बैठक बस्छ । ३३४ सदस्यीय संयुक्त बैठकले विधेयकमाथि निर्णय गर्छ । निर्णय बहुमत वा सर्वसम्मत दुवै तरिकाबाट हुन सक्छ । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x