एमसीसीमा को कतातिर ?
काठमाडौं: सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी तत्काल पारित गर्नुपर्ने पक्षमा छ । प्रधानमन्त्री देउवाले माओवादीको महाधिवेशन उद्घाटन समारोहमै उपस्थित भएर ‘एमसीसी राम्रोसँग पढ्न र पारित गर्न’ सुझाव दिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा छँदा एमसीसी पारित गर्ने पक्षमा थियो । पछिल्लो समय एमालेले एमसीसीबारे सरकारको धारणा माग गर्दै आएको छ ।
गत पुस १० गते विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सरकार स्पष्ट हुनुपर्ने बताएका थिए । सरकारमा छँदा ओलीले एमसीसीबारे प्रश्न उठेका विषयमा संसदबाट संकल्प प्रस्ताव पारित गर्न सकिने विकल्प ल्याएका थिए ।
नेकपा माओवादी केन्द्रमा एमसीसी यथास्थितिमा पारित गर्न नहुने मत बलियो छ भने नेकपा एसमा पनि एमसीसीमा रहेका केही बुँदा स्वीकार्य नहुने धारणा बलियो छ । जनता समाजवादी पार्टी एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।
गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा र संसदमा रहेको नेमकिपा एमसीसीको विपक्षमा छन् । प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसीसी पारित गर्नुपर्ने निर्णय गरिसकेको छ ।
अबको १५ दिन निर्णायक
सरकारका एक मन्त्री एमसीसीका लागि अबको १५ दिन निर्णायक रहेको बताउँछन् । विगतमा एमसीसीबारे सामान्य छलफल भएपनि पछिल्लो समय प्रधानमन्त्री देउवाले नै अग्रसरता लिएकोले अब छिनोफानो हुने कांग्रेस नेतासमेत रहेका मन्त्रीको दावी छ ।
‘एमसीसीबारे प्रधानमन्त्रीको सिरियसनेस बढेको छ । गठबन्धनमा भएको सहमति १५ दिनभित्र कार्यान्वयन हुनुपर्ने हो’, ती मन्त्रीले भने ।


