कपिलवस्तुमा रास्वपाको जनलहर बढ्दै, वडा नं. ७ र ८ मा ठूलो संख्यामा पार्टी प्रवेश सांसद विक्रम सिंह थापाको उपस्थितिमा जनतासँग अन्तरक्रिया, सुशासन र राजनीतिक परिवर्तनमा जोड
दिनेश ठाकुर नेपालगन्ज,कात्तिक १९ गते — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तु नगरपालिका वडा नं. ७ र ८ मा आयोजना गरेको ‘जनतासँग अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम’ उत्साहजनक सहभागिताका साथ सम्पन्न गरेको छ।
रास्वपाका केन्द्रीय नेता एवं प्रतिनिधिसभा सदस्य विक्रम सिंह थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा स्थानीय नागरिकसँग पार्टीको नीति, सिद्धान्त, समसामयिक राजनीतिक अवस्था, सुशासन, पारदर्शिता तथा क्षेत्रको विकासका विषयमा विस्तृत छलफल गरिएको थियो। सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा स्थानीय नागरिक रास्वपामा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई सांसद थापासहित पार्टीका नेताहरूले खादा ओढाएर स्वागत गर्दै पार्टीको अभियानमा जोडिनुभएकोमा धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले देशमा सुशासन, राजनीतिक स्थायित्व र सकारात्मक परिवर्तनका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विक्रम सिंह थापाले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकका अधिकार सुनिश्चित गर्न आफू निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रहरी सेवामा रहँदा कानुनको पालना र अपराध नियन्त्रणका लागि देखाएको दृढता जनप्रतिनिधिको भूमिकामा पनि कायम राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा वक्ताहरूले सांसद थापाको ‘दबङ छवि’ कुनै गैरकानुनी शक्ति वा अराजकताको प्रतीक नभई कानुनको शासन स्थापित गर्न देखाएको साहस, निर्भीकता र दृढ सङ्कल्पको परिचायक भएको चर्चा गरेका थिए।
वक्ताहरूले प्रहरी सेवामा रहँदा अपराध र बेथितिविरुद्ध सशक्त रूपमा उभिएका थापा अहिले जनप्रतिनिधिका रूपमा संसद् र सार्वजनिक जीवनमा पनि सुशासन, पारदर्शिता तथा जनताको अधिकारका पक्षमा आवाज उठाउँदै आएको बताए।
उनीहरूले देशमा विद्यमान राजनीतिक बेथिति अन्त्य गर्दै जनताको अपेक्षाअनुसारको शासन व्यवस्था स्थापित गर्न नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले पनि आफ्नो क्षेत्रका समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे सांसद थापा तथा पार्टीका नेताहरूसमक्ष धारणा राखेका थिए।
रास्वपाले पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यहरू तथा कार्यक्रममा सहभागी सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गर्दै सुशासन, समृद्धि र परिवर्तनको अभियानलाई थप सशक्त बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।


