१३ मंसिर २०८३, शनिबार

काङ्ग्रेस एक एक्सनले कम्युनिस्टहरु तितरबितर किन ? ( एमसीसी ) प्रस्ताव

एसीपी संवाददाता

९ फाल्गुन २०७८, सोमबार ००:४६ मा प्रकाशित

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेका अनेकन आक्षेपमध्ये एक हो, सरकारले संसददमा अनुमोदन गर्न ल्याएको एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव अघि बढाएनन् ।

माओवादी केन्द्रका कतिपय नेता उनले सभामुखबाट राजीनामा दिनुपर्नाको भित्री कारण यो पनि हो भन्छन् । उनै महरा आइतबार संसदमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश हुँदै गर्दा छटपटीमा थिए ।

संभवतः यही छटपटीले हुनुपर्छ, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमसीसी टेबल गर्ने प्रस्ताव पढ्न सुरु गर्नेवित्तिकै जुरुक्क उठे । उनी बैठक कक्षबाटै बाहिरिन खोजेका थिए । तर उनलाई नजिकै रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोके ।    बहुप्रतिक्षित एमसीसी संसदमा टेबुल हुँदै गर्दा प्रतिनिधिसभा हलभित्रको दृष्य अघिल्ला बैठकहरुभन्दा फरक थियो । प्रतिनिधिसभामा होहल्ला त थियो नै, होहल्ला दलहरुका आआफ्नै स्वार्थ र तौरतरिकाका थिए । माहौल प्रतिनिधिसभा बाहिर पनि तातेकै थियो ।  यही गर्मागर्मीका बीचमा करिब २ बजे प्रतिनिधिसभाको पोडियममा उभिएर सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमसीसी अनुमोदनका लागि टेबल गरे । त्यसबेला कांग्रेसका सांसदमात्रै शान्त थिए, अरु दलका सांसदको कल्याङमल्याङ धेरै थियो ।

पार्टीमा एउटा निर्णय गरेर शीर्ष नेताहरुको बैठकमा अर्कै निर्णय गर्ने आफ्ना अध्यक्षहरुलाई प्रश्नसमेत सोध्न नपाएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुमा विरोधाभास देखिन्थ्यो भने नेमकिपा, राष्ट्रिय जनमोर्चा र एमालेका भीम रावलले विरोधमै नारा लगाए ।

यो प्रक्रियामै सहभागी नभएको एमालेको एजेण्डा भने अलग्गै थियो । एमालेले १६६ दिनदेखि (२३ भदौ २०७८देखि) संसद अवरोध गर्दै आएको छ । एमालेले विगतमा झै उही नारा दोहोर्‍यायो,‘सभामुखको व्यवहार मुर्दावाद, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, हाम्रो विरोध जारी छ, जबरजस्ती गर्न पाइँदैन ।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसी चाहिँदैन, यो सम्झौता खारेज गर भनेर मुठ्ठी कसिरहेका थिए । तर खनाल एक्लिए, खनालले राष्ट्रवादी नारा लगाइरहेको उनको छेउमा रहेका पार्टी अध्यक्ष माधव नेपालले मोबाइल चलाएर बसे ।

संसदमा एमसीसी टेबल भइरहँदा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीका सांसदहरु भने चुपचाप रहे ।

सत्तापक्षको बेन्चको लहरको बीचतिर नेता गिरिराजमणि पोखरेल उभिएर विरोध गरे । उनी संगै रहेका माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद देव गुरुङ भने एमसीसी टेबुल भइरहँदा कुर्सीबाट उठ्दै उठेनन् ।

गुरुङ माओवादी केन्द्रमा एमसीसीका चर्का विरोधी मानिन्छन् । एमसीसी लागू भए अमेरिकी सेना नेपाल भित्रिन्छ भन्ने पहिलो व्यक्ति गुरुङ नै हुन् ।

पोडियमबाट सञ्चारमन्त्री कार्कीले ‘अनुमोदनका लागि एमसीसी पेश गरेको छु’ भन्दा कांग्रेसका सांसदहरुले दुबै हातले टेबुल ठोके । ती सांसदहरुका अनुसार उनीहरु चाहन्थे, समर्थनमा टेबल ठोकेको आवाज नाराबाजी भन्दा चर्काेगरी सुनियोस् ।

संसदको अबको प्रक्रिया र अंकगणित

जे जसरी भए पनि प्रतिनिधिसभाको विजनेस भएको छ एमसीसी । अब संसदले टुंगो लगाउने आफ्नै प्रक्रिया छ ।

प्रतिनिधिसभा नियमावली अनुसार कुनै पनि विजनेस संसदमा पेश भएपछि त्यसमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुन्छ । विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिन्छन् । यही व्यवस्था र अभ्यास अनुसार प्रतिनिधिसभाको आगामी १२ गतेको बैठकमा एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल हुनेछ ।

सैद्धान्तिक छलफलपछि सन्धि सम्झौताको हकमा आरक्षणको व्यवस्था भए आफ्नो मत राख्न १२० घण्टा समय दिइन्छ । तर, एमसीसीमा आरक्षणको व्यवस्था छैन ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, ‘सम्झौता अनुसार परियोजना सञ्चालनका लागि जनशक्ति भर्ना गर्नुपर्यो । त्यो जनशक्ति भर्नका सन्दर्भमा देशपिच्छेका फरक फरक व्यवस्था हुन्छन् । त्यस अनुसार के गर्ने ? भन्ने हुन्छ । तर, एमसीसीमा आरक्षणको व्यवस्था नै छन् । त्यसकारण यहाँ १२० घण्टाको प्रावधान लागू हुँदैन ।’

प्रतिनिधिसभा नियमावलीको नियम २२२ को (च) मा ‘बहपुक्षीय सन्धिमा आरक्षण राख्नुपर्ने भएमा सोको कारण र आरक्षणको प्रस्ताव’ हुनुपर्ने उल्लेख छ । यस्तो आरक्षणउपर संशोधन हुन सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २२४ मा छ ।

‘…सामान्य छलफल समाप्त भएको एक सय बीस घण्टाभित्र सोसन्धिकोव्यवस्था अन्तर्गत आरक्षण राख्न सकिने रहेछ भने वा त्यस्तो सन्धिको कुनै प्रावधानको व्याख्या नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरी घोषणा गर्न सकिने रहेछ वा त्यस्तो प्रस्ताव गरिएको भए सो सम्बन्धी विषयमा सीमित रही संशोधन पेश गर्न चाहने सदस्यले त्यस्तो संशोधनको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ’ नियमावलीमा छ । त्यस्तो संशोधनलाई संसदले स्वीकृत वा अस्वीकृत गर्न सक्छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अब केही चरणको छलफलमै एमसीसी निर्णयार्थ पेश हुनेतिर जान सक्छ ।

एउटा चरण– एमसीसीमाथि सैद्धान्तिक छलफल र मन्त्रीको जवाफ । यसका लागि कति दिन लाग्छ भन्ने टुंगो हुँदैन । किनभने सबै दलका सांसदहरुले एमसीसीबारे आफ्नो धारणा राख्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको शब्दमा ‘एमसीसी संसदको सम्पत्ति भयो, अब बल सांसदहरुको कोर्टमा गएको छ ।’

अर्थात् सांसदहरुले छलफलमा कस्तो धारणा बनाउँछन् ? त्यसले समाजमा कस्तो सन्देश पैदा गर्छ ? सांसदहरु एमसीसीको पक्षमा उभिने कि विपक्षमा भन्ने विषयलाई संसदमा हुने छलफलले पनि ठूलो अर्थ राख्ने बताउँछिन् माओवादी केन्द्रका सांसद रेखा शर्मा । ‘हामी एमसीसी रोक्नै लागेका हौं । टेबल भयो अब पास हुन नदिने भन्ने हो । यसका लागि त्यसै अनुसार तयारी गर्नुपर्ने छ’ उनले भनेकी छन् ।

सांसदहरुले सैद्धान्तिक छलफल गरेपछि त्यसबारे सम्बन्धित मन्त्रीले जवाफ दिन्छन् । मन्त्रीले दिएको जवाफप्रति चित्त नबुझे पूरक प्रश्न गर्न सांसदहरुले पाउँछन् । र पूरक प्रश्नको पनि मन्त्रीले जवाफ दिएपछि पहिलो चरणको छलफल सकिन्छ ।

अर्को चरण – दफावार छलफल । यो चरणमा सत्तारुढ दलका बीचमा कुरा मिल्ने देखिएको छैन् । सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफलका लागि संसदीय समितिमा पठाउने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोडबल छ । तर, कांग्रेस दफावार छलफल संसदमै गर्ने पक्षमा छ ।

एमसीसी टेबुल भएपछि प्रधानमन्त्री देउवाको ब्रिफिङ सुनेका नेताहरूका अनुसार आगामी १२ गते एमसीसीमाथि सैद्धान्तिक  छलफल सुरु हुनेछ । सैद्धान्तिक छलफलपछि संसदमै सम्झौताको दफा दफामाथि छलफल (दफावार छलफल) सुरु हुन्छ । यसले केही दिन संसदको समय लिन्छ र सम्बन्धित मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ पेस हुन्छ ।

दफावार छलफलका लागि संसदीय समितिमा पठाएको खण्डमा केही समय लिन सक्छ । तर, संसदमै छलफल भएको खण्डमा सैद्धान्तिक छलफलमा सांसदहरुले बोल्ने नै हुन्छन् । केही दिन वा घण्टा दफावार छलफल गरेर निर्णयार्थ पेश गर्नतिर जानसक्छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x