काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतपक्षी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विभिन्न व्यावसायिक समूहसँग मिलेमतो भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।
एकीकृत समाजवादी र एकीकृत नेकपाबीचको एकता कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेपालले ओलीप्रति त्यस्तो आरोप लगाएका हुन् । ओली प्रधानमन्त्री हुँदा यति र ओम्नीलगायतका समूहसँग मिलेमतोमा अनियमितता भएको सन्दर्भ उल्लेख गर्दै नेपालले त्यस्तो आरोप लगाएका हुन् । ओली प्रधानमन्त्री भएको बेला नेपाल तत्कालीन नेकपाका वरिष्ठ नेता थिए ।
नेपालले पूर्वप्रधानमन्त्री ओलीको र व्यावसायिक समूहहरूको नामै किटेर त्यस्तो आरोप लगाएका हुन् । ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे, ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे । लुट्ने, चुस्ने काम केपी ओलीले गरे, देश र जनताको सेवा गर्ने काम हामीले गर्यौं,’ नेपालले भने, ‘दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्यौं । हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ, उनले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याए ।’


