सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा हस्तान्तरण सम्पन्न, बाल संरक्षण र मानव बेचबिखन रोकथाममा स्थानीय सरकारको प्रतिबद्धता
नेपालगञ्ज , मसिर १२ गते — बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाका राजापुर र मधुवन नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना (Surakshya Project) को अन्तिम समीक्षा, प्रतिबिम्ब तथा हस्तान्तरण बैठक सम्पन्न गरेको छ।
परियोजनाको कार्यान्वयन अवधि समाप्त हुँदै गर्दा दुवै नगरपालिकामा आयोजित छुट्टाछुट्टै बैठकमार्फत परियोजनाका उपलब्धि, समुदायस्तरमा देखिएका सकारात्मक परिवर्तन, सिकाइ तथा आगामी दिनमा कार्यक्रमलाई दिगो बनाउने उपायबारे समीक्षा गरिएको हो।बैठकमा स्थानीय सरकारका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरी, सामुदायिक सरोकारवाला, परियोजनाका लाभग्राही, युवा प्रतिनिधि तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा विशेषगरी बाल संरक्षण प्रणालीको सुदृढीकरण, मानव बेचबिखन रोकथाम, सुरक्षित आप्रवासन प्रवर्द्धन, बालबालिका तथा युवाको सशक्तीकरण र समुदायमा सचेतना अभिवृद्धिका क्षेत्रमा परियोजनाले पुर्याएको योगदानको समीक्षा गरिएको थियो।
राजापुरमा नगर प्रमुख थारूको अध्यक्षतामा समीक्षा बैठकराजापुर नगरपालिकामा आयोजित समीक्षा तथा हस्तान्तरण बैठक नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न भएको थियो। महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरीले कार्यक्रम सहजीकरण गर्नुभएको थियो भने प्लान इन्टरनेशनल नेपालकी कार्यक्रम विशेषज्ञ दुर्गा क्षेत्रीले परियोजना समीक्षा तथा हस्तान्तरण प्रक्रियाको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले परियोजनाको समग्र प्रगति, प्रमुख उपलब्धि, सञ्चालन गरिएका गतिविधि, असल अभ्यास, सिकाइ तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे प्रस्तुति गर्नुभएको थियो।
उहाँले परियोजनामार्फत बाल संरक्षणका स्थानीय संयन्त्र सुदृढीकरण, मानव बेचबिखन रोकथाम, सुरक्षित आप्रवासनसम्बन्धी सचेतना, बालबालिका तथा युवाको सशक्तीकरण र अभिभावकीय जिम्मेवारी अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको जानकारी दिनुभयो।औपचारिक हस्तान्तरण प्रक्रियाअन्तर्गत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले संस्थाको तर्फबाट परियोजनाको अन्तिम प्रगति प्रतिवेदन नगर प्रमुख दीपेश थारूलाई हस्तान्तरण गर्नुभएको थियो।
बैठकमा समुदायका प्रतिनिधि, परियोजनाका लाभग्राही, वडा अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले परियोजनाबाट प्राप्त अनुभव र समुदायमा देखिएका सकारात्मक परिवर्तनबारे धारणा राख्नुभएको थियो।
उहाँहरूले मानव बेचबिखनसम्बन्धी सचेतनामा वृद्धि, बाल संरक्षण अभ्यासमा सुधार, बालबालिका तथा युवाको सक्रिय सहभागिता र विद्यालय, समुदाय तथा स्थानीय सरकारबीचको सहकार्यमा सुधार आएको अनुभव सुनाउनुभएको थियो।नगर प्रमुख दीपेश थारूले सुरक्षा परियोजना कार्यान्वयनमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले पुर्याएको योगदानको प्रशंसा गर्दै समुदायमा सचेतना अभिवृद्धि र बाल संरक्षणका स्थानीय संयन्त्र सुदृढीकरणमा परियोजनाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
उहाँले परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन सफल गतिविधिहरू नगरपालिकाको योजना, कार्यक्रम तथा बजेटमा समावेश गर्दै सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
मधुवनमा पनि परियोजनाको समीक्षा तथा हस्तान्तरण
यसैगरी, मधुवन नगरपालिकामा आयोजित अन्तिम समीक्षा, प्रतिबिम्ब तथा हस्तान्तरण बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो। नगरपालिकाको तर्फबाट शोभा शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। बैठकमा वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुख, नेपाल प्रहरीका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, युवा प्रतिनिधि, वडा सदस्य, सामुदायिक सरोकारवाला, परियोजनाका लाभग्राही तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले परियोजनाको प्रगति, उपलब्धि, प्रमुख गतिविधि, सिकाइ तथा आगामी दिनमा उपलब्धिहरूलाई दिगो बनाउने उपायबारे प्रस्तुति गर्नुभएको थियो।
प्रस्तुतिमा बाल संरक्षण प्रणालीको सुदृढीकरण, मानव बेचबिखन तथा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना, युवा अभियन्ताको सशक्तीकरण, अभिभावक तथा सामुदायिक समूहको परिचालन र स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको समन्वयमा परियोजनाले पुर्याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको थियो।सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले संस्थाको तर्फबाट मधुवन नगरपालिकालाई परियोजनाको अन्तिम प्रगति प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।
बैठकमा सहभागी लाभग्राही तथा समुदायका प्रतिनिधिहरूले परियोजनाका कारण मानव बेचबिखनसम्बन्धी बुझाइमा वृद्धि, बालअधिकार तथा बाल संरक्षणसम्बन्धी ज्ञानमा सुधार र समुदायस्तरका सचेतनामूलक अभियानमा युवाहरूको सहभागिता बढेको अनुभव सुनाएका थिए।
बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज गौतमले परियोजना कार्यान्वयन अवधिभर प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र स्थानीय सरकारबीच भएको सहकार्यको प्रशंसा गर्दै स्थापित सामुदायिक संरचनाको संरक्षण र सफल अभ्यासलाई स्थानीय सरकारको योजना तथा बजेटमा समावेश गर्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षा परियोजनाबाट प्राप्त उपलब्धिलाई मानव बेचबिखन नियन्त्रण तथा बाल संरक्षण सुदृढीकरणका आगामी कार्यक्रमको बलियो आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
मधुवन नगर प्रमुख तेजबहादुर भाटले परियोजनाले नगरपालिकामा ल्याएका सकारात्मक परिवर्तनको प्रशंसा गर्दै बाल संरक्षण र मानव बेचबिखन रोकथामसम्बन्धी कार्यक्रमलाई नगरपालिकाको योजना तथा बजेटमा समावेश गरी निरन्तरता दिनुपर्ने बताउनुभयो।
उहाँले स्थानीय सरकार, सामुदायिक संरचना र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कायम गर्दै परियोजनाका उपलब्धिको दिगोपना सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
बाल संरक्षण र मानव बेचबिखन रोकथाममा सकारात्मक उपलब्धि परियोजनाको अन्तिम समीक्षा बैठकमा प्रस्तुत विवरणअनुसार सुरक्षा परियोजनाले लक्षित समुदायमा बालअधिकार, बाल संरक्षण, मानव बेचबिखन तथा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
परियोजनाका प्रमुख उपलब्धिमा युवा अभियन्ताहरूको नेतृत्व र सहभागितामा वृद्धि, सकारात्मक अभिभावकत्वको प्रवर्द्धन, विद्यालय तथा समुदायमा बालमैत्री वातावरण निर्माण, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय तथा मानव बेचबिखन रोकथामका स्थानीय संयन्त्रको सुदृढीकरण रहेका छन्।
परियोजनाको प्रभावकारी कार्यान्वयनमा पुर्याएको योगदानको कदरस्वरूप मधुवन नगरपालिकाले बाँके युनेस्को क्लब तथा परियोजना टोलीलाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो।
बैठकमा आगामी दिनमा परियोजनाका सफल गतिविधिलाई निरन्तरता दिन स्थानीय सरकारको योजना तथा बजेटमा समावेश गर्ने, बाल संरक्षण संयन्त्रलाई सक्रिय राख्ने, युवा नेतृत्वमा सञ्चालन हुने अभियानलाई प्रोत्साहन गर्ने तथा विद्यालय, नेपाल प्रहरी र सामुदायिक संरचनासँगको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
बैठकमा बाँके युनेस्को क्लबका उपाध्यक्ष पंचम गुरुङ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, अध्यक्ष प्रवेज अलि सिद्दिकी, सहअध्यक्ष निरज गौतम तथा परियोजना टोलीका सदस्य सबित्रा भाट र प्रमिशा थारूलगायत प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अन्तिम समीक्षा तथा हस्तान्तरण बैठकले परियोजनाको औपचारिक कार्यान्वयन अवधि समाप्त भए पनि यसबाट प्राप्त उपलब्धि, सिकाइ र समुदायमा स्थापित सकारात्मक अभ्यासलाई निरन्तरता दिन स्थानीय सरकार तथा सरोकारवालाहरूबीच साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, समावेशी र संरक्षणयुक्त समुदाय निर्माणमा योगदान पुर्याएको छ। परियोजनाबाट विकसित स्थानीय स्वामित्व, सामुदायिक सहभागिता र संस्थागत प्रतिबद्धताले आगामी दिनमा समेत बाल संरक्षण तथा मानव बेचबिखन रोकथामका अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


