चौतर्फी घेराबन्दीमा परेपछि कोइरालाले एक्लै आँट गरेका थिए । त्यसको नतिजा कोशी प्रदेशसमा सर्वसहमति नजिकको सरकार बन्न पुग्यो । बुधबार कार्कीले विश्वासको मत पाए । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ८६ र विपक्षमा ५ मत पर्यो । कोइरालाले विद्रोह गर्दा प्रतिपक्षी दल एमालेको साथ लिएका थिए ।
१४औँ महाधिवेशनमा सभापति देउवासँग पराजित शेखर १५औँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने तयारीका साथ गतिविधि गरिरहेका छन् । कोशी प्रदेशमा २९ सांसद रहेकोमा ८ सांसदबाट विद्रोह गर्न आँट शेखरले गरेका थिए ।
शेखरको विद्रोहपछि असोज २७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र कोइरालाबीच सहमति भयो- वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ भन्ने । शेखरले गठबन्धनप्रति दृढ रहने भनेर गरेको सहमति शुक्रबार नै भएको स्रोतले बतायो । कोशीमा मुख्यमन्त्री नियुक्त भएपछि मात्र सहमति सार्वजनिक गर्ने निर्णयमा शीर्ष नेता पुगेका थिए ।
ऐन मौकामा कोशी सरकारमा एमालेलाई सरकारबाट बाहिर पठाउने रणनीतिमा केन्द्रीय सत्ता गठबन्धन छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले एमालेलाई गठबन्धनबाट बाहिरिन आग्रह गरे । ‘गठबन्धनको कमजोर र संविधानका केही प्रावधानका कारण जसरी जबर्जस्ती एमाले गठबन्धनभित्र घुसेको छ, एमालेले चाँडोभन्दा चाँडो गठबन्धनबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्,’ उनले भने ।
गठबन्धनभित्र खेलेर एमालेले अनैतिक काम गरेको आङ्बोको भनाइ छ । ‘एमालेले आफ्नो नैतिकता प्रदर्शन गर्ने हो भने उहाँहरू मुख्य विपक्षीमा जानुपर्छ,’ आङ्बोले भने ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश सरकारबाट आफूहरूलाई कसैले निकाल्नै नसक्ने बताए । ‘नहुने कुरा गर्दै नगर्नु । हामीलाई कसैले निकाल्न सक्दैन । हामी आफैँ निस्कन्छौँ निक्लनु पर्दा,’ उनले भने ।
दलहरूबीचको छेडखानी चलिरहँदा शेखरको आइडियाले कोशी प्रदेशमा सहमतिको खाका खोलेको छ । एमालेलाई पनि आकर्षित गर्ने प्रस्ताव देखिए पनि शेखरको कदमको पार्टीभित्र भने आलोचना भइरहेको छ ।
कोशी घटनाले शेखर र महामन्त्री गगन थापाबीच दूरी बढाएको छ । केही समयअघिदेखि नै उनीहरूबीच औपचारिकबाहेक संवादहीनताको अवस्था थियो । कोशीमा सरकार गठनको कदम चाल्दा कोइरालाले महामन्त्री थापासँग छलफलसमेत गरेनन् । यसबाट थापा थप चिढिएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार निर्माण गर्दाको अवस्था बारे कोइरालाले प्रस्ट पार्नुपर्ने बताएका छन् । ‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’ महामन्त्री शर्माले असोज २९ को पदाधिकारी बैठकपछि भने ।
कोशी सरकार गठन गर्न कांग्रेस नेता मिनेन्द्र रिजालको भूमिका शेखरलाई सघाउने थियो । उनले पार्टीलाई एकताबद्ध बनाउने प्रयास कोशीमा भएको बताए । कोशीमा कांग्रेसले पछि मात्र कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
‘पार्टी एकताबद्ध भएर जान्छ । पार्टीको जीन यस्तै हो । नेपालको राजनीति यस्तै हो । छलफल विवाद हुन्छ । अन्तमा निर्णय हुन्छ । कचकच भइनै राख्ने हो । यसलाई व्यवस्थापन गर्दै आएका छौँ । कोशीमा पनि विश्वासको मत एकताबद्ध भएर नै दिएका हौँ । त्यसलाई सम्मान गर्छु । सहमतिको प्रयास गरेका हौँ यसरी नै पार्टीर्ला एकताबद्ध बनाएर लैजान्छौँ,’ नेता रिजालले शिलापत्रसँग भने ।
तीन नेताबीचमा भएको सहमतिको लेखनकर्ता रिजाल नै रहेको बताइन्छ । तर यसबारे भने उनले कुनै टिप्पणी नगर्ने बताए । तीन नेताबीचमा भएको सहमतिबारे पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कृष्ण सिटौला र उपसभापति पूर्णबहादुर खड्काले पनि प्रश्न उठाएका थिए । किनकी सहमति गर्दा उनीहरूलाई जानकारी गरिएको थिएन भने पार्टीको आधिकारिक माध्यमबाट पनि गरिएको थिएन । उनीहरू शेखर पक्षलाई कोशीको मुख्यमन्त्री दिनुभन्दा माओवादीलाई दिन उपयुक्त हुने भन्दै देउवा र प्रधानमन्त्री प्रचण्डकहाँ लबिङ गर्न पनि पुगेका थिए ।
तीन नेताबीच सहमति हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डकी स्वकीय तथा पुत्री गंगा दाहालले कोशीमा शेखरको विद्रोहपछि पनि सरकारको पक्षमा विज्ञप्ति निकाल्ने भनेर किन निकालियन भनेर प्रश्न उठाएकी थिइन् । सो सहमतिको मर्मअनुसार एमालेलाई कोशी प्रदेश सरकामा सहभागी गराउन नहुने बुझाइ माओवादीको छ । प्रधानमन्त्री प्रचण्डले पनि यसको घुमाउरो विरोध गरेका छन् । उनले कांग्रेसर्लाइ मोर्चा हो कि पार्टी भनेर प्रश्न उठाएका छन् ।
किनकी उनले कोशीमा गठबन्धन बलियो छ भनेर देखाउन कांग्रेस सभापति देउवासँगै नेता शेखरसँग पनि सहमति गर्नु परेको थियो । कोशीमा सहमति गर्दैगर्दा शेखर समूहमा मन्त्रीको विषयलाई लिएर भइरहने विवाद पनि समाधान हुने बाटो पहिल्याइएको छ । सहमति गर्दा शेखर समूहलाई मन्त्री हेरफेर गर्दा शक्तिशाली मन्त्रालय दिने सहमति पनि भएको कांग्रेसका एक नेताले शिलापत्रलाई बताए ।
सरकार हेरफेर गर्दा दलहरूले पाएको मन्त्रालयमा भने तलमाथि हुनेछैन । ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड दलहरूलाई दिइएको मन्त्रालयको संख्या घटबढ गराउन अनिच्छुक देखिए ।
कोशी प्रकरणपछि पनि संस्थापनइतर समूहमा फरक नपर्ने नेताहरू बताँछन् । विशेष गरी महामन्त्री थापा र शेखरबीचको सम्बन्धमा फरक आउने दाबीहरू आए पनि नेताहरू भने इतर समूह एक रहेको बताउँछन् । ‘कोशी सरकारको विषयमा भएका असहमतिहरू हट्दै गएका छन् । यसले शेखर दाइ र संस्थापन इतर समूहमा फरक पारेको छैन,’ इतर समूहका नेता रामनाथ अधिकारीले शिलापत्रसँग भने ।
कोशी प्रकरणबाट भएको सहमितिले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखरको हैसियत एकै रहेको देखाएको विश्लेषण हुन थालेको छ ।
‘शेखर, प्रचण्ड र देउवालाई समान हैसियतमा पुर्याएको छ । कांग्रेस र सरकारको भविष्य शेखरले चाल्ने कदमले पनि निर्धारण हुन्छ । किनकी कोशीमा एमाले पनि सफल भएको छ । उसले केन्द्रमा पनि यस्तै गर्न खोजिरहेको छ,’ राजनीतिक विश्लेषक डा. गोविन्दमानसिंह कार्कीले भने ।
कोशी प्रकरणमा शेखरले आफ्नै समूहमा रहेको महामन्त्री थापा र आउन लागेका महामन्त्री शर्माको विश्वास जित्न नसकेको आरोप छ । यसबारे उनी निकट एक नेता भन्छन्, ‘गगन–विश्व फोबिया पनि लागेजस्तो देखिन्छ । सबै विषयमा सबैसँग एकै विचार र सहमति हुन्छ भन्ने छैन ।’
कोशी प्रकरणपछि शेखर गगन टाढिन लागेजस्तो देखिन्छ । यस्तो भएको पहिलो पटक नभएकाले फेरि पनि उनीहरूबीच कुनै घटनामा नजिक हुन सक्छन् । महामन्त्री थापा १५औँ महाधिवशेन अघिसम्म शेखर आफ्नो समूहको नेता हुने बताउँछन् ।
बेला बेला चिसिएको जस्तो देखिने सम्बन्धले उनीहरूलाई टाढा जान पनि बाहना मिल्ने बुझाइ कांग्रेसभित्र छ । टाढिन परे पनि किन टाढिएको जवाफ उनीहरूले कार्यकर्तालाई दिनुपर्नेछ । त्यो बाहनाको खोजीमा दुबै नेता छैनन् । तर १५औँ महाधिवशेनबाट भावी सभापतिको दौडमा निस्किएका शेखरले गर्ने निर्णयले इतर समूहको आयु निर्धारण गर्न मुख्य भूमिका खेल्ने बुझाइ कांग्रेस नेतामा छ । शिलापत्र