२९ माघ २०८२, बुधबार

चार जना चिकित्सक आतंक गतिविधिमा संलग्न आरोपमा पक्राउ

एसीपी संवाददाता

२८ कार्तिक २०८२, बिहीबार ०९:२४ मा प्रकाशित

हिमाल पत्रीका – भारतमा पछिल्ला चार दिनभित्र चार जना चिकित्सक आतंक गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका छन् । तीमध्ये केहीको कब्जाबाट राइफल र पिस्तोल बरामद गरिएको छ भने केहीको प्रयोगशालाबाट विष बनाउने रासायनिक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । सुरक्षास्रोतका अनुसार यी सबै चिकित्सकहरू विदेशी आतंकवादी संगठनहरूका निर्देशनमा सक्रिय थिए ।

जम्मु–कश्मीर, हरियाणा, उत्तर प्रदेश र गुजरातमा एकपछि अर्को गरी गरिएको कारबाहीमा चार जना चिकित्सकसहित उनका सहयोगीहरू पक्राउ परेका हुन् । उनीहरूबाट २९ सय किलोभन्दा बढी अमोनियम नाइट्रेट, राइफल, पिस्तोल र बम बनाउने उपकरणहरू बरामद भएका छन् । यसलाई भारतीय अधिकारीहरूले ‘सेतो कॉलर आतंक’ अर्थात् शिक्षित पेशेवर वर्गभित्रको नयाँ आतंक रूपका रूपमा व्याख्या गरेका छन् ।

जम्मु–कश्मीरका डा. अदिल अहमद रदरको व्यक्तिगत लककरबाट AK–47 बरामद भएपछि उनलाई सहारनपुर, उत्तर प्रदेशबाट पक्राउ गरिएको थियो । उनी जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित रहेको आशंका छ । त्यस्तै, हरियाणाका डा. मुजम्मिल शाकिलको कोठाबाट २९ सय किलो अमोनियम नाइट्रेट र हतियार भेटिएपछि पक्राउ गरिएको हो । उनी अल फलाह विश्वविद्यालयमा कार्यरत थिए र अन्य चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका थिए ।

सोही घटनासँग सम्बन्धित महिला चिकित्सक डा. शाहिन शाहिदलाई पनि फरीदाबादबाट पक्राउ गरिएको छ । उनी मुजम्मिलसँग सहकार्य गर्दै हतियार ढुवानीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गुजरातमा पक्राउ परेका डा. अहमद मोहियुद्दिन सैयदले ‘राइसिन’ नामक घातक विष तयार गरेको आरोप छ । उनले दिल्ली र अहमदाबादका भीडभाडयुक्त स्थानहरूमा आक्रमण योजना बनाइरहेको बताइएको छ ।

यी चारै पक्राउले भारतीय सुरक्षासंस्थाहरूलाई सतर्क बनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूले भने, “यो अब केवल सीमापार आतंक होइन, शिक्षित वर्गभित्र लुकेको नयाँ खतरा हो।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x