‘चिया अड्डा’ लाजिम्पाटमा विस्तार
कलाकारहरू संजोग कोइराला, वर्षा राउत, दीपाश्री निरौला र दीपकराज गिरीको ‘चिया अड्डा’ लाजिम्पाटमा विस्तार भएको छ। सन् २०१८ मा खुलेको चिया अड्डा मिठो चियाका साथै रमाइलो वातावरणका लागि चर्चित छ।
पहिलो चिया अड्डा नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोनिर थियो। केही दिनअघि मात्र यो पनि बानेश्वर, पानी ट्यांकी नजिकै सरेको चिया अड्डाका सह–सञ्चालक संजोग कोइरालाले जानकारी दिए। लाजिम्पाटको शाखा भने एक साताअघि खुलेको हो।
चिया अड्डा सुरुआती दिनदेखि नै युवापुस्ताको आकर्षणमा परेको हो। यहाँ कलेजका विद्यार्थी र कामकाजी युवायुवती जमघट गर्न आउँछन्। त्यसैले बिहान र बेलुका भिडै हुन्छ।
बानेश्वरजस्तो व्यस्त सहरमा एकछिन आनन्दले बसेर चिया खाने ठाउँ बनाउने सोचले संजोग, वर्षा, दीपाश्री र दीपकराजले चिया अड्डा खोलेका हुन्। यहाँको धेरैजसो काम भने मुख्यगरी संजोगले सम्हाल्छन्।
‘चिया अड्डा बानेश्वरको घन्चमन्चमा चिलिङ स्पट हो। अब लाजिम्पाट क्षेत्रमा पनि स्थापित गराउने सोच छ,’ संजोग भन्छन्, ‘यी दुवै ठाउँमा प्रायः रेस्टुरेन्ट महँगा छन्। कलेज र अफिस भएकालाई खाजा खान धेरै पैसा खर्च गर्नुपर्छ। यही समस्या समाधान गर्न हामीले सबैको बजेटअनुकूल मूल्य राखेका छौं।’
फिल्म निर्माण र अभिनयमा परिचित संजोग व्यवसाय क्षेत्रमा सक्रिय छन्। चिया अड्डाबाहेक इन्टेरियर र कन्स्ट्रक्सन कम्पनी, ह्यासट्याग लाउन्ज, आइसक्रिम लाइभजस्ता व्यवसाय पनि अघि बढाइरहेका उनी भन्छन्, ‘यीमध्ये चिया अड्डा मेरो जीवनसँग नजिक छ।’
फिल्म र व्यवसाय दुवै क्षेत्र संजोगको पढाइभन्दा धेरै फरक हो। काठमाडौंमा उच्च शिक्षा सकेर उनी चार्टर्ड एकाउन्टेन्ट पढ्न भारत गएका थिए। पढाइ सकिएलगत्तै उनले राम्रो तलबसहितको जागिर पाए। तर संजोगलाई भारतमा काम गर्ने इच्छा थिएन।
‘भारतमा त्यो बेला ४३ हजारको जागिर प्रस्ताव अस्वीकार गरेर म काम गर्न नेपाल फर्किएँ। तर यहाँ १५ हजार तलब पाउने भएँ। यता आमाले सधैं फिल्म खेल्न भन्नुहुन्थ्यो। फिल्म नखेलेसम्म घरभित्र छिर्न दिन्नसम्म भन्नुभयो,’ उनले हाँस्दै सुनाए। सेतोपाटीबाट


