१७ मंसिर २०८०, आईतवार

चीनबाट नेपालीहरुको उद्दार गर्न सरकारको ढिलाइ,१८० जनाको निवेदन

एसीपी संवाददाता

२१ माघ २०७६, मंगलवार ०८:३२ मा प्रकाशित

माघ २१ गते एजेन्सी । कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्ती चिन्ताको विषय भएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्।
सरकारले तीन दिनअघि हुबेमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने निर्णय गरेको थियो।
तर उनीहरूलाई नेपालमा ल्याएर दुई सातासम्म स्वास्थ्य निगरानीमा राख्ने स्थान तय हुन नसक्दा हालसम्म कहिले उद्धार गर्ने भन्ने टुङ्गो नलागेको अधिकारीहरूले बताएका छन्।
तीन दिनअघि सरकारले एउटा विशेष विमान पठाएर हुबेमा रहेका नेपाली नागरिकहरूको उद्धार गर्ने निर्णय गरेको थियो।
१८० जनाको आवेदन
सोही निर्णय अनुसार बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो।
आवेदनका लागि चिनियाँ समय अनुसार आइतवार बिहान ९ बजेसम्मको समय दिइएकोमा १८० जनाले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेको दूतावासले जनाएको छ।
तर नागरिकहरूको उद्धार गर्ने निर्णय भएको तीन दिनसम्म पनि नेपालमा ल्याएर उनीहरूलाई कहाँ राख्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।
उद्धार र त्यसपछि उनीहरूलाई नेपालमा स्वास्थ्य निगरानीमा राख्नेबारे प्रधानमन्त्री तहबाटै निर्णय भए पनि विभिन्न निकायबीच समन्वय नहुँदा समस्या देखापरेको कतिपय जानकारहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने हाल उद्धार गरिएकाहरूलाई सुरक्षितरूपमा राख्ने स्थानको खोजी भइरहेको बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x