१८ श्रावण २०८३, सोमबार

चीनले डुबाएको नेपाल एयरलाईन्सको अर्बौं रकम

एसीपी संवाददाता

९ चैत्र २०७९, बिहीबार १६:०२ मा प्रकाशित

 ठूलो रकममा किनेर नेपाल भित्रयाइएको चिनियाँ जहाज उडान गर्नमा गुणस्तरिय नहुदा ग्राउन्डेड गरिएका ति जहाजको विक्रीको लागि मूल्याँकन कार्य सुरु भएको छ ।

नेपाल वायुसेवा निगमले पाँचवटा चीनबाट नेपाल भित्रयाइएको चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको हो । तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।
निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबार देखि काम सुरु गरेर एक महिना भित्रै मूल्याङ्कन गरिसक्ने बताईन् । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कन सँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
उनले भनिन्, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मंसिरमा कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो । मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्ड भित्र रहेर पूर्ण मूल्याङ्कन हुन लागेको हो ।”
चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिने लगायत बारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाए पछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो । जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वान समेत गरेको थियो तर कसैको आवेदन परेन ।
निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ । निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताईन् ।
जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी छ अर्ब ६७ करोड १० लाख रुपियाँ खर्च गरेको थियो । कुल रकम मध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो ।
६ वटा चिनियाँ जहाज मध्ये एउटा एमआई ६० र एउटा वाई १२ जहाज चीन सरकारले अनुदानमा दिएको थियो । बाँकी चारवटा जहाज जी टु जी –मोडेल (सरकारद्वारा सरकार सँग खरिद प्रणाली अन्तर्गत) चीनको एक्जिम बैङ्कको सहुलियत पूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो ।
६ वटा जहाजमध्ये एक वाई १२ नेपालगञ्जमा दुर्घटनामा परेको थियो । पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो । अधिक खर्च र न्यून आम्दानीका कारण उडाएर लाभ लिन नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज ग्राउन्डेड गरेको थियो ।
हाल निगमले दुईवटा एयरबस–३२० र दुई वटा एयरबस–३३० सिरिज गरी कुल चारवटा जहाज मार्फत दिल्ली, मुम्बई, बैङ्लुरु, थाइल्यान्ड, हङकङ, जापान, साउदी अरेबिया, दुबई, कतार, मलेसिया लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x