जसपाका नेताले आफ्नै पार्टीका मन्त्रीलाई भने, ‘एमालेको दूत’
विगत २५ दिनदेखि विभिन्न कल्याणपुर नगरपालिकामा भइरहेको आन्दोलनलाई बिना सम्झौता टुङ्ग्याइएको आरोप लगाउँदै नेता मण्डलले मन्त्री महतोले यो आन्दोलन टुङ्ग्याएर एमालेको ऋण तिरेको आरोप लगाएका छन् । मिर्चैया नगरपालिकामा हिसाब किताबसहित परिषद् बैठकलगायत १२ बुँदे माग राख्दै एमालेबाहेकका दलहरू आन्दोलन गरिरहेका थिए ।
तालाबन्दी गरी भएको आन्दोलनलाई एकैपटक कसैलाई जानकारी नदिई बिना सम्झौता टुङ्ग्याइ दिएको आरोप नेता मण्डलको रहेको छ । ‘आन्दोलनकारीको एउटा कुनै पनि माग पुरा हुने गरी सम्झौता भएको भए त्यसलाई मान्न सकिन्थ्यो । तर उहाँले एमालेका सचिव रघुवीर महासेठको इसारामा आन्दोलनलाई टुग्याउनु भयो,’ मण्डलले भने ।
मन्त्री महतो र नेता मण्डलको चुनावी क्षेत्र (सिरहा क्षेत्र नम्बर ४) एउटै हो । गत चुनावमा मन्त्री महतो सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थिए भने नेता मण्डल प्रदेश सभा सदस्यका लािग चुनाव लडेका थिए । मण्डल चुनावमा पराजित भएका थिए । नेता मण्डल कल्याणपुर नगरपालिकाका बासी हुन् ।
यता मन्त्री महतोका प्रमुख स्वकीय सचिव चन्देश्वर पासवानले आन्दोलनकारीले राखेको अधिकांश मागमा सम्झौता भएको र केही माग कार्यपालिकासँग सम्बन्धित रहेकाले त्यसमा भोलि छलफल गरेर टुङ्गो लगाउने बताए । मन्त्री महतोको चुनावी क्षेत्र भएको हुनाले त्यहाँ हुने कुनै प्रकारको विवाद मिलाउने उनको दायित्व र महतोले आफ्नो दायित्व पुरा गरेको उनले बताए ।
शुक्रवार भएको छलफलमा जसपा, माओवादी, जनमतलगायतका दलका प्रतिनिधिको उपस्थितिमा सबै सम्झौता भएको हो बताउँदै नेता मण्डललाई कुन कुरामा चित्त नबुझेको आफूले बुझ्न नसकेको उनको भनाई छ ।
छलफलमा जसपा कल्याणपुर नगर अध्यक्ष दीपेन्द्र बरबरियाको समेत उपस्थिति थियो । जसपाकै नेताहरूको आग्रहमा मन्त्री महतोले यो विवाद समाधान गरेको बताउँदै स्वकीय सचिव पासवानले यसमा चित्त दुखाउने अवस्था नरहेको बताए ।
आन्दोलनको क्रममा लगाइएको मुद्दा फिर्ता लिने, नगरपरिषद् चाँडै बोलाउने, पालिकाले हिसाब किताब दिने जस्ता विषयमा सम्झौता भएको बताउँदै उनले यसमा विवाद गर्नुको कुनै तुक नरहेको बताए । रातोपाटि


