३ श्रावण २०८३, आईतवार

दार्चुलाका नागरिकलाई भारतीय बाटोकै साहारा

एसीपी संवाददाता

१२ मंसिर २०७७, शुक्रबार ०७:३४ मा प्रकाशित

व्यास जाने बाटो निर्माणमा तीनै तहका सरकारले पोहोर र यसपालि गरेको लगानी सार्थक नभएपछि व्यासका स्थानीयलाई बेंसी झर्न भारतीय बाटो नै प्रयोग गर्नुपरेको छ । पञ्चायतकालमा निर्माण गरिएको घोडेटो बाटो पुनर्निर्माण सम्पन्न नहुँदा यो साता व्यासका स्थानीय यसअघिका वर्षझैं भारतीय बाटो भएरै बेंसी झरेका छन् ।

हिउँदयाममा हिमाली गाउँ टिंकरमा बाक्लो हिमपात पर्छ, यस्तो बेला टिंकरवासी मौसमी बसाइँ सरेर दार्चुला सदरमुकाम खलंगा पुग्छन् । छाङरुवासी पनि खलंगा झर्ने तयारीमा छन् । नेपालको बाटो भएर सदरमुकाम आउन सहज नभएका कारण भारतको बाटो भएर व्यासीका सौका समुदाय कुञ्चा (बसाइँसराइ) सरिरहेका छन् ।
मंसिरको पहिलो सातासम्म बेंसी सरिसक्ने भए पनि बाटोको समस्याका कारण यसपालि ढिलाइ भएको हो । सोमबार टिंकरका ६० परिवार आफ्ना बालबच्चा र पशुचौपायासहित बेंसी पुगेका छन् । केही परिवार बाटोमै छन् । कोरोनाका कारण बन्द रहेको अन्तर्राष्ट्रिय सीमा नेपाल–भारतका स्थानीय प्रशासनिक अधिकारीको समन्वयमा खुलाइएको छ । सीमानाकाको पुल खुला भएपछि टिंकरवासी खलंगा पुगेका हुन् ।

गत असोजमा सेनाले घाटीबगड क्षेत्रमा ५ सय ५० मिटर घोडेटो बाटो निर्माण गरेको थियो । बाटो उद्घाटन गर्न असोज तेस्रो साता हेलिकप्टरमार्फत पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतीय परनिर्भरता हटेको भन्दै भाषण गरेका थिए । तर, त्यसको करिब तीन/चार किलोमिटर यताको तम्बाकु क्षेत्रमा व्यास जोड्ने घोडेटो बाटो बन्द नै थियो । उक्त क्षेत्रमा प्रदेश सरकार र व्यास गाउँपालिकाले धेरै बजेट खर्च गरे पनि अहिलेसम्म बाटो सञ्चालन हुन सकेको छैन । उक्त क्षेत्रमा बाटो खोल्न नसक्दा खलंगा आवतजावत गर्न भारतीय भूभागको बाटो प्रयोग गर्नुपर्ने व्यासीका स्थानीय बताउँछन् ।

गत जेठमा भारतीय पक्षसँग आग्रह गरी थातथलो पुगेका व्यासीले यसपाला जाडोमा औल झर्दा स्वदेशी बाटो भएर आउन पाइएला भन्ने सोचेका थिए । तर कुञ्चा सर्ने बेलासम्म बाटो नै बनेन । ‘हेलिकप्टर चढेर व्यास पुगेका सबै नेता, कर्मचारी तथा सुरक्षा निकाय प्रमुखले यो पटकको कुञ्चा नेपालकै बाटो भएर जाने आश्वासन दिएका थिए,’ व्यासको टिंकरबाट खलंगा पुगेका सौका समुदायका अगुवाहरू भन्छन्, ‘तर भारतकै बाटो आउनुपर्‍यो ।’

करिब ६ दिन हिँडेर टिंकर गाउँको कुञ्चा खलंगा पुगेको जमन टिंकरीले बताए । जुनसुकै सरकार आए पनि वर्षौंदेखिको सौका समुदायको समस्या बुझिदिने कोही नभएको उनको गुनासो छ । भारतले बाटो नदिएको भए अहिले व्यासीहरूले हिमपात भएको अवस्थामा हिमालमै चिसो सहेर बस्नुपर्ने अवस्था आउने थियो,’ उनले भने ।

सेनाले घाटीबगडको सीमित एक ठाउँमा बनाएको बाटोलाई पूरै बाटो राम्रो भएको र नेपाली बाटो भएरै कुञ्चा सर्न सकिने भनेर गरिएको प्रचारबाट छाङरु र टिंकरवासी असन्तुष्ट छन् । २०३३/३४ सालमा बनेको बाटो धेरै ठाउँमा भत्किएर हिँड्न नसकिने अवस्था छ । सबैभन्दा बढी तम्बाकु, कल्जु, दोपखेलगायतको क्षेत्रमा जोखिम भएको व्यासीका सौकाहरू बताउँछन् । ‘मान्छे हिँड्न जोखिम रहेको ठाउँमा पशुचौपाया हिँडाउन झन् मुस्किल हुन्छ,’ मोहन टिंकरीले भने, ‘भारतीय बाटो प्रयोग गर्न गुहारेपछि मात्रै उतैको बाटो तल आउन सजिलो भएको हो ।’

पशुपालन र खेतीपाती गर्ने व्यास, छाङरु र टिंकरका स्थानीय चिसो बढेपछि हरेक वर्ष ६ महिना बेंसी तथा सदरमुकाम खलंगा झर्ने गर्छन् । २०५९ सालसम्म नेपालकै बाटो भएर व्यासीहरू कुञ्चा सार्थे । त्यसपछि व्यास जोड्ने बाटोमा हरेक वर्ष बजेट जाने तर काम नभएरै फरफारक गरिँदा बाटो बन्न नसकेको स्थानीय बताउँछन् ।

कात्तिकमा खेतीपाती लगाएर बेंसी झर्ने व्यासीहरू हरेक वर्ष वैशाख अन्तिम साता खेतीपाती भित्र्याउन गाउँ उक्लने गर्छन् । उनीहरू वर्षको एक पटक उवा, नप्पल, तीते फापर, पल्ती र आलु जस्ता बाली लगाउँछन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेसा कृषि र व्यापार हो । व्यास गाउँपालिका–१ मा मात्रै झन्डै एक सय ७० परिवार सौका समुदायको बसोबास रहेको छ । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x