४ आश्विन २०८३, आईतवार

नम्रताको पाठ सिकायौं ’ सगरमाथा

एसीपी संवाददाता

९ कार्तिक २०७८, मंगलवार ०६:२० मा प्रकाशित

शुभ प्रभात माउन्ट एभरेष्ट’ बलिउड अभिनेत्री परिणीति चोपडाले मंगलबार बिमहान सामाजिक सञ्जालमा आफ्नो फोटो साझेदार गर्दै लेखेकी छिन्, ‘तिमीले आज मलाई नम्रताको पाठ सिकायौं ।’ सगरमाथालाई पृष्टभूमीमा पारेर उनले केही थान तस्वीर पनि पोस्ट गरेकी छिन् । उनी नीलो जिन्स र कालो फिटिङ् टिसर्टमा ठाँटिएकी छिन् ।

केही समययता परिणीति नेपालमा छिन् । चलचित्र ‘उँचाई’ छायांकनका लागि अनुपम खेर, बोमान ईरानीसँगै उनी नेपाल आएकी हुन् । फिल्मको निर्देशन बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले गर्दैछन् । यो उनको छैठौं फिल्म हो । यसअघि उनले मैने प्यार किया, विवाह, प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।

हाल छायांकन भइरहेको फिल्म ‘उँचाई’ उनको अर्को महत्वकांक्षी फिल्म हो, जो फरक सामाजिक कथाबस्तुमा आधारित रहेको बताइन्छ । उक्त फिल्म खासगरी चार जना दौतरीको हो, जो उमेरले ६० बर्ष पार गरेका छन् ।

यो फिल्ममा अनुपम, बेमानसँगै अमिताभ बच्चन, डेनी डेन्जोङ्पा आदिले अभिनय गर्दैछन् । यसमा परिणिती चोपडाको पनि मूख्य भूमिका रहेको बताइन्छ ।

अब परिणिती चोपडातर्फ लागौं । लेडिज भर्सेस रिक्की बहल फिल्मबाट उनले बलिउड डेब्यु गरेकी हुन् । त्यसयता उनले इशकजादे, शुद्ध देसी रोमान्स, हंसी तो फंसी, दावत ए इश्क, किल दिल , डिशूम लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । भनौं, यतिबेला उनी बलिउडकी चल्तापूर्जा अभिनेत्रीमा गनिन्छन् ।

जबकि उनी अभिनेत्री बन्ने दौडमा थिइनन् । कुनैबेला उनी बैंकर्स बन्ने सपना देख्थिन् । सोहीसँग सम्बन्धित विषयमा अध्ययनका लागि उनी लन्डन गइन्, १७ बर्षको उमेरमा । त्यहाँको म्यानचेस्टर बिजनेस स्कुलबाट बिजनेस, फाइनान्स एन्ड इकोनोमिक्समा स्नातक गरिन् । आफ्ना पढाइका क्रममा उनले म्यानचेस्टर युनाइटेड फुटबल क्लबको लागि खानपान विभाग अन्र्तगत टिम लिडरको काम पनि गरेकी थिइन् । पछि आर्थिक मन्दीको कारण उनी उनी भारत फर्किइन् । त्यसपछि यश राज फिल्म्समा काम गर्न थालिन्, जनसम्पर्क सल्लाहकारको रुपमा ।

सन् २०११ मा ‘लेडिज भर्सेस रिक्की बहल’मा काम गरेपछि भने उनको यात्रा मोडियो । यस फिल्ममा उनले गरेको अभिनय निकै रुचाइयो पनि । पछि ‘इश्कजादे’मा उनले शीर्ष भूमिका निर्वाह गर्ने मौका पाइन् । यो फिल्म व्यवसायिक हिसाबले सफल र समीक्षाको दृष्टिले राम्रो मानिए । पछिल्लो पटक सार्वजनिक ‘जबरिया जोडी’ भने त्यती सफल भएन । उनी अभिनित ‘द गर्ल अन द ट्रेन’ नेटफ्लिक्समा सार्वजनिक भयो ।

यतिबेला परिणीति पूर्ण रुपमै फिल्ममा व्यस्त छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x