नयाँ पार्टीको संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी देवकोटाको काँधमा
दिनेश ठाकुर नेपालगन्ज, २६ असोज — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ऋषिराज देवकोटा ‘जय नेपाल पार्टी’को लुम्बिनी प्रदेश संयोजकमा नियुक्त हुनुभएको छ। धवलशमशेर राणाको नेतृत्वमा गठन भएको नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ले देवकोटालाई लुम्बिनी प्रदेशमा संगठन निर्माण तथा विस्तारको जिम्मेवारी दिएको हो।
पार्टीले संगठनलाई प्रदेशस्तरसम्म विस्तार गर्दै राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित देवकोटालाई उक्त जिम्मेवारी सुम्पिएको बताइएको छ। उहाँको नियुक्तिसँगै लुम्बिनी प्रदेशमा पार्टीको संगठन विस्तार र भावी राजनीतिक गतिविधिबारे चासो बढेको छ।
नवनियुक्त प्रदेश संयोजक देवकोटाले आगामी दिनमा लुम्बिनी प्रदेशका सबै जिल्लामा पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा अगुवा कार्यकर्ताको भेला आयोजना गर्ने कार्यलाई प्राथमिकता दिने बताउनुभएको छ। प्रदेशका विभिन्न जिल्लामा संगठनात्मक संरचना निर्माण गरी पार्टीलाई जनस्तरसम्म पुर्याउने उहाँको योजना रहेको छ।
देवकोटा राप्रपाको सहायक महामन्त्रीजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका नेता भएकाले उहाँको नयाँ नियुक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। राप्रपामा बहाल रहेकै अवस्थामा उहाँले अर्को राजनीतिक दलमा प्रदेशस्तरीय जिम्मेवारी पाउनुलाई प्रदेशको राजनीतिक समीकरण र संगठन विस्तारसँग जोडेर हेरिएको छ।
धवलशमशेर राणाको नेतृत्वमा अघि बढिरहेको ‘जय नेपाल पार्टी’ले लुम्बिनी प्रदेशमा देवकोटाको नेतृत्वमार्फत आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्न खोजेको देखिन्छ। अब प्रदेशका विभिन्न जिल्लामा संगठन निर्माण र कार्यकर्ता परिचालनमा उहाँको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।


