“हरियाली र सुरक्षित वातावरण हाम्रो सङ्कल्प”: वडा अध्यक्ष रजनीश वाजपेयीको अगुवाइमा नेपालगञ्ज-८ मा व्यापक हरियाली अभियान
नेपालगञ्ज — “हरियाली वडा, स्वच्छ वातावरण र सुन्दर नेपालगञ्ज” निर्माण गर्ने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा व्यापक वृक्षरोपण अभियान अघि बढाइएको छ।
वडा अध्यक्ष रजनीश वाजपेयीको नेतृत्वमा सञ्चालित उक्त अभियान अन्तर्गत वडाका प्रमुख सडक तथा सार्वजनिक क्षेत्रहरूमा वृक्षरोपण गरिएको हो। टंगस्टैशनदेखि सुरु भई त्रिभुवन चोक, पूर्व लाइन, नेपालगञ्ज उद्योग वाणिज्य संघ, ऐतिहासिक रानीतलाउ, एमपी स्कुल हुँदै हिन्दू मसानघाटसम्मका क्षेत्रहरूमा बिरुवा रोपिएको छ।
विशेष गरी रोपिएका बिरुवाहरूको उचित संरक्षण र सुरक्षालाई ध्यानमा राख्दै ठाउँ-ठाउँमा बलिया सिमेन्टका गमलाहरू राखिनुका साथै बिरुवालाई जनावर वा अन्य क्षतिबाट बचाउन तारको जाली (सुरक्षा जाली) समेत लगाइएको छ।
वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता तथा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वृक्षरोपण कार्यक्रममा बोल्दै वडा अध्यक्ष रजनीश वाजपेयीले आज रोपिएका बिरुवाले नै भोलिको स्वच्छ र स्वस्थ वातावरणको आधार तय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले केवल बिरुवा रोप्ने मात्र होइन, तिनको संरक्षणका लागि सुरक्षित जाली र गमलाको व्यवस्थापन पनि गरेका छौँ। ‘आजको वृक्षरोपण, भोलिको स्वच्छ वातावरण’ भन्ने नारालाई सार्थक बनाउन सबै वडावासीहरूलाई प्रकृति जोगाउने र हरियाली वडा निर्माण गर्ने अभियानमा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु।”
सहरीकरणसँगै घट्दै गएको हरियालीलाई पुनः प्रवर्द्धन गर्न र नगरलाई प्रदूषणमुक्त बनाउन वडा कार्यालयले आगामी दिनहरूमा पनि यस्ता वातावरणीय तथा सरसफाइ सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।




