निकुञ्जमा ट्रक दुर्घटना हुन्दा तिनको घटनास्थलमै मृत्यु
पुस १६, बाँके ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुइ महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन् ।
बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछी दुई महिला ट्रकमा सवार भएका चालक चौधरीले बताएका प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



