२९ माघ २०८२, बुधबार

जेन जि आन्दोलन थाकेका युवाहरूको सपनाको प्रतिरोध थियोे – जय प्रकाश्

एसीपी संवाददाता

२३ पुष २०८२, बुधबार २२:२२ मा प्रकाशित

केही महिना अघि नेपालको सडकमा जेन्जी उमेर समूहको एउटा असाधारण विद्रोह भयो। त्यो केवल आक्रोशको विस्फोट थिएन; त्यो थाकेका सपनाहरूको प्रतिरोध, थिचिएका सम्भावनाहरूको चिच्याहट र राजनीतिक जडताविरुद्धको खुला चुनौती थियो। मागहरू विविध थिए—सुशासन, पारदर्शिता, दण्डहिनताको अन्त्य, अवसरमा समानता—तर मूल भावना एउटै थियो: अब पुरानो ढाँचाले देश धान्दैन।

त्यस क्षणमा लाग्थ्यो, नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रवेश केवल सम्भावना होइन, अनिवार्यता बनेको छ। संसद्, दल र सत्ता संरचनाले अब युवाको प्रश्न सुन्नैपर्छ भन्ने आश पलाएको थियो। तर यही विद्रोहको मौलिकता योजनाबद्ध रूपमा लांछित गरियो। सरकारबाट गरिएको निर्मम दमन र त्यसले जन्माएको जनप्रतिरोधलाई “अपुष्ट विदेशी षड्यन्त्र” र “घुसपैठ”को भाष्यद्वारा बदनाम गरियो। प्रश्नहरूको जवाफ दिन नसक्ने सत्ता, आरोपको आडमा आफ्नो असफलता ढाक्न उद्यत भयो।

रातोरात आन्दोलनकारीहरू प्रतिरक्षात्मक अवस्थामा धकेलिएका थिए। सडकमा उठेको सत्यलाई दबाउन सत्ता मात्र होइन, तथाकथित शहरीया बुद्धिजीवीहरू पनि सक्रिय भए। ती अनुहारहरू, जो सार्वजनिक मञ्चमा सुशासन, पारदर्शिता र दण्डहिनताविरुद्ध बोल्दै कहिल्यै नथाक्ने गर्थे, एकाएक नयाँ परिवर्तनको विरोधमा उभिए। उनीहरूले पनि उही पुरानो, घिस्रिएको भाष्य दोहोर्याए—विदेशी हात, षड्यन्त्र, अस्थिरताको डर।

यसैबीच, दमनका दोषीहरूलाई दण्डित गर्ने सरकारको कमजोर इच्छाशक्तिलाई अपराधीहरूले राम्ररी बुझे। “हामी बिना चुनाव सम्भव छैन” भन्ने सोच वर्तमान सत्तामा गहिरिँदै गयो। चुनावलाई उपलब्धिको रूपमा बेच्न आतुर यो सरकार, न्यायलाई बलिदान दिएर अदृश्य मनोबैज्ञानिक सम्झौतामा पुग्यो। फलतः अपराधीहरू दण्डबाट उन्मुक्त हुने निश्चित भयो, र राज्यको दायित्व तथा नैतिकता फेरि एकपटक हार्यो।

यतिमात्र होइन। छेउकिनार लागिसकेका, जनविश्वास गुमाइसकेका नेताहरू पुनः आ–आफ्ना पार्टीमा फर्किए। शक्ति सञ्चय गरियो, गुट सुदृढ पारियो, र युवा नेतृत्वका सम्भावनालाई निर्दयतापूर्वक लत्याइयो। जेन्जी उमेर समूहको विद्रोहले क्षणिक रूपमा हल्लाएको भावी संसद् अब फेरि उही पुरानो अनुहारले भरिने संकेत देखिन थाले। आगामी निर्वाचनमा तिनै असफल, थाकेका र इतिहासमै कैद हुनुपर्ने नेताहरूलाई “नयाँ आशा”को रूपमा प्रस्तुत गरिँदैछ।

यसरी, जेन्जीको विद्रोह—जो परिवर्तनको संकेत थियो—आज उपहासको विषय बनाइएको छ। सडकमा उठेको प्रश्नलाई सत्ताले मात्र होइन, समाजको एक हिस्साले समेत विश्वासघात गरेको छ। यो केवल युवामाथिको अन्याय होइन; यो लोकतन्त्रकै आत्मामाथिको प्रहार हो। जब विद्रोहलाई षड्यन्त्र भनिन्छ, न्यायलाई सम्झौतामा साटिन्छ, र असफलतालाई अनुभवको नाम दिइन्छ, तब राजनीतिले भविष्य होइन, केवल अतीत दोहोर्याउँछ।

आजको नेपाली राजनीतिक दुरावस्था यही हो—जहाँ नयाँ पुस्ताको चेतनालाई डर, अराजक, बिध्वंसक आदि भनेर पुरानो असफलतालाई स्थायित्वको नाम दिईदैंछ। तर इतिहासले बारम्बार देखाएको छ: दबाइएको प्रश्न मर्दैन, केवल समय कुर्छ। चिन्ता यस कुरो को छ कि, अन्ततः मुलुकले अझ् ठुलो नोक्सान बेहोर्नु पर्ने हुन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x