सेभ द चिल्ड्रेन र सामाजिक विकास मञ्चको आयोजनामा २२ जना युवा उद्यमीहरूका लागि ३ दिने ‘डिजिटल मार्केटिङ’ तालिम सुरु
नेपालगञ्ज, १८ कात्तिक २०८३ — सेभ द चिल्ड्रेनको सहकार्य र सामाजिक विकास मञ्चद्वारा सञ्चालित ‘अपलिफ्ट’ (UPLIFT) परियोजना अन्तर्गत युवा उद्यमीहरूलाई प्रविधिमैत्री बनाउँदै व्यावसायिक प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ तीन दिने ‘युवा उधमीहरुलाई डिजिटल मार्केटिङ सचेतना तालिम’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
न्यु इन्द्रेणी होटलमा आयोजित उक्त तालिमको उद्घाटन कार्यक्रम सामाजिक विकास मञ्चका संस्थापक अध्यक्ष एवम परियोजना फोकल पर्सन घनश्याम उपाध्यायज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहको औपचारिक सञ्चालन परियोजनाका कार्यक्रम अधिकृत बृजेश ठाकुरज्यूले गर्नुभएको थियो। कार्यक्रममा परियोजना संयोजक राम श्रेष्ठज्यूले UPLIFT परियोजनाको समग्र अवधारणा, दूरदृष्टि र यो तालिम सञ्चालन गर्नुको मुख्य उद्देश्यबारे सहभागीहरूलाई प्रस्ट पार्नुभएको थियो। उहाँले वर्तमान प्रतिस्पर्धी बजारमा परम्परागत व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो।
यसैगरी, शान्त चौधरीज्यूले कार्यक्रममा पारदर्शिता कायम गर्दै तालिमको खर्च विवरण प्रस्तुत गर्नुभएको थियो। साथै, उहाँले परियोजना अन्तर्गतको (MEAL – अनुगमन, मूल्याङ्कन, जवाफदेहिता तथा सिकाइ) को अवधारणा, यसको महत्त्व र संस्थागत जवाफदेहिताबारे सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो।
उद्घाटन सत्रपश्चात् सुरु भएको प्राविधिक सत्रमा घरेलु तथा साना उद्योग महासंघका भोजराज तिमिल्सिनाज्यूले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको छ। उहाँले तालिम अवधिभर सहभागीहरूलाई डिजिटल बजारीकरणका व्यावहारिक सीप, आधुनिक रणनीति र व्यवसाय प्रवर्द्धनका उपायहरूबारे मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुहुनेछ।
तीन दिनसम्म चल्ने यस तालिममा परियोजना कार्यक्षेत्रका २२ जना युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको छ। तालिम अवधिभर सहभागीहरूलाई सामाजिक सञ्जालहरू—जस्तै फेसबुक (Facebook), टिकटक (TikTok), र ह्वाट्सएप (WhatsApp) मार्फत आफ्ना वस्तु तथा सेवाको प्रभावकारी प्रवर्द्धन (Promotion) गर्ने, लक्षित ग्राहकसम्म पुग्ने र न्यूनतम लागतमा बजार विस्तार गरी आम्दानी वृद्धि गर्ने व्यावहारिक सीप प्रदान गरिने परियोजना सयोजक राम श्रेष्ठले जानकारी गराउनु भएको छ । 




