१८ कार्तिक २०८३, मंगलवार

बालविवाह अन्त्यका लागि स्वास्थ्य क्षेत्रको सक्रियता बढाउनुपर्नेमा जोड मधुवनमा स्वास्थ्यकर्मी र सरोकारवालाबीच अन्तरक्रिया, रोकथामका लागि संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता

एसीपी संवाददाता

१८ कार्तिक २०८३, मंगलवार २२:०६ मा प्रकाशित

मधुवन , कात्तिक १७ — बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य गरी बालविवाहमुक्त समुदाय निर्माणका लागि स्वास्थ्य क्षेत्रको सहभागिता र संस्थागत प्रतिबद्धता आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

सुरक्षित भविष्य परियोजनाअन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मधुवन नगरपालिकामा सम्पन्न भएको छ।

बाँके युनेस्को क्लब (BUC), राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित कार्यक्रममा नगर उपप्रमुखसहित स्वास्थ्य, शिक्षा, प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, मधुवन नगरपालिका अस्पतालका प्रतिनिधि र विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षणसम्बन्धी गतिविधिको प्रशंसा गर्दै बालविवाह रोकथाम र जनचेतना अभिवृद्धिमा संस्थाले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले किशोरकिशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना बनाएको जानकारी दिनुभयो।

त्यसैगरी, शिक्षा शाखा प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखा, गैरसरकारी संस्था तथा समुदायमा आधारित क्लबहरूबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले स्वास्थ्य संस्थाहरूलाई समुदायस्तरमा सञ्चालन हुने जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

उहाँले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य संस्था पुग्ने किशोरकिशोरीप्रति सम्मानजनक र संवेदनशील व्यवहार तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियामा सहभागी विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले बाँके युनेस्को क्लबका समुदायस्तरका पहलमा सक्रिय साझेदारी गर्दै बाल संरक्षण प्रवर्द्धन र बालविवाह रोकथामका लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा समुदायस्तरमा नियमित अनुगमन गर्ने, बालविवाहका घटनाको समयमै पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउने, परामर्श सेवालाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य संस्थाको सेवामा मात्र सीमित नभई परिवार र समुदायसम्म पुगेर संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता गरिएको थियो।बालविवाह अन्त्यका लागि जनचेतना अभिवृद्धिसँगै संस्थागत जवाफदेहिता, निरन्तर समन्वय र सबै तहको सामूहिक सक्रियता आवश्यक रहेको निष्कर्षसमेत निकालिएको थियो।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबअन्तर्गत सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले गर्नुभएको थियो भने संरक्षण अधिकृत विजय शर्माले सहयोग गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा समन्वय फिल्ड सुपरभाइजरहरू मिनु थारु र दीक्षा बिष्टले गर्नुभएको थियो।

बालविवाह अन्त्यका लागि जनचेतना मात्र पर्याप्त छैन, त्यसका लागि सुदृढ साझेदारी, सामूहिक प्रतिबद्धता र हरेक तहमा निरन्तर तथा प्रभावकारी प्रयास आवश्यक रहेको कार्यक्रममा जोड दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x