भारतीय संचारमाध्यमका अनुसार महाराष्ट्रका उपमुख्यमन्त्री र उर्जामन्त्रीको उपस्थितिमा सम्झौता भएको हो। सम्झौतामा एसजेभीएनका निर्देशक गीता कपुर र महाराष्ट्र स्टेट पावरका अध्यक्ष तथा प्रबन्ध निर्देशक पी एनब्लागनले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार महाराष्ट्रका विभिन्न नवीकरणीय ऊर्जाका आयोजनाहरुको अध्ययन र निर्माण गर्ने उल्लेख छ। जसमा जलविद्युत, पम्प स्टोरेज, सोलार, वायु, हाइब्रिड र ग्रीन हाइड्रोजनका आयोजनाहरु रहेका छन्।
दुईवटै कम्पनीले सयुक्त रुपमा महाराष्ट्रले संचालन र मर्मत सम्भार गरिरहेका साना जलविद्युत आयोजनाका स्टेसनहरुको नवीकरण र आधुनिकीकरणका लागि महाराष्ट्र सरकारले जारी गरेको टेण्डरमा भाग लिने उल्लेख छ।
दुई कम्पनीबीच बुधबार सम्झौता भएको थियो। यसैको परिणामस्वरुप बिहीबार एसजेभीएन सेयर भारतीय स्टक एक्सचेन्जमा ६ प्रतिशतले बढेको छ।
यो सम्झौतामा हस्ताक्षर भएसंगै एसजेभीएनको पोर्टफोलियो ५४,०६५ मेगावाट पुगेको छ। जसमा २०९१ मेगावाट संचालनमा छन। अरु आयोजनाहरु निर्माणका विभिन्न चरणमा छन्। कम्पनीले सन् २०२३÷२०२४ मा ५००० मेगावाट , २०३० सम्म २५००० मेगावाट र २०४० सम्म ५०००० मेगावाट जडित क्षमता पूर्याउने लक्ष्य लिएको छ।
सतलज त्यही कम्पनी हो जसले नेपालमा समेत जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आधाभन्दा बढी काम पूरा भएको यो आयोजनाबाट आगामी डेढ वर्षमा उत्पादनको लक्ष्य छ।
कम्पनीले ४९० मेगावाटको अरुण–४ आयोजना नेपाल विद्युत प्राधिकरणसँग मिलेर बनाउन लागेको छ। २०७९ जेठमा आयोजना संयुक्त रूपमा निर्माण गर्ने गरी जिम्मा दिइएको हो।
करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको यो आयोजनाको बाँधस्थल संखुवासभाको भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ। बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ। डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत ऊर्जा उत्पादन गरिनेछ।
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि पाएको छ। कम्पनीसंग आयोजना विकास सम्झौता (पीडीए) भएको छ। निर्माण सुरु गरेको पाँच वर्षमा सक्ने योजना बनाइएको छ। यसका लागि करिब ५७९२ करोड भारु लाग्ने अनुमान गरिएको आयोजनाबाट उत्पादन हुने विद्युत भारत लैजानका लागि करिब २१७ किमि प्रसारणलाइन समेत निर्माण हुनेछ भने २१ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनेछ।
यो प्रस्तावित तल्लो अरुण जलविद्युत आयोजना संखुवासभा र भोजपुरमा निर्माण हुनेछ। निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको क्यासकेड हुने गरि निर्माण गर्न लागिएको छ।
७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना समेत मागेको छ। यो आयोजना चिनियाँ कम्पनीले लिएको थियो। तर चिनियाँ कम्पनीसँग सरकारले खोसेर भारतीय कम्पनीलाई दिन लागेको छ। चिनियाँ कम्पनीसंग लगानी बोर्डको कार्यालयले स्पष्टीकरण सोधिसकेको छ।
यो कम्पनीले सन् २०३० सम्म नेपालबाट ५००० मेगावाटको जलविद्युत आयोजना निर्माण गरेर लैजाने योजना बनाएको छ।


