१४ मंसिर २०८३, आईतवार

नेपालगञ्ज–१८ मा सडक निर्माणलाई तीव्रता, चार टोलमा नापजाँच र लागत इस्टिमेट सम्पन्न वडा अध्यक्ष दीपक बर्माको नेतृत्वमा प्राविधिक टोलीद्वारा स्थलगत अनुगमन

एसीपी संवाददाता

१४ मंसिर २०८३, आईतवार २२:४३ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, मंसिर १३ गते — नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सडक पूर्वाधार विकास तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ। वडाभित्रका विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नति गर्ने उद्देश्यले चार टोलका सडकको प्राविधिक नापजाँच र लागत इस्टिमेट तयार गर्ने काम सम्पन्न गरिएको छ।

वडा कार्यालयका अनुसार आइतबार स्प्रिङडेल टोल, बुद्धनगर, नागरिक टोल र दुर्गानगर टोलका सडकहरूको स्थलगत नापजाँच गरिएको हो।वडा अध्यक्ष दीपक कुमार बर्माको नेतृत्वमा खटिएको प्राविधिक टोलीले सम्बन्धित टोलमा पुगेर सडकको वर्तमान अवस्था अवलोकन गर्नुका साथै आवश्यक प्राविधिक नापजाँच र लागत अनुमानको काम सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष बर्माले वडाको समग्र विकास, समृद्धि र नागरिकको सहज आवागमनलाई प्राथमिकतामा राखेर सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको बताउनुभयो।

उहाँले भन्नुभयो, “वडाका सबै टोलमा आवश्यकताका आधारमा सडक पूर्वाधार विकास गर्ने हाम्रो लक्ष्य हो। सडक निर्माणले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै टोलको विकास र समृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

अध्यक्ष बर्माका अनुसार सडक निर्माण तथा स्तरोन्नति अभियानलाई निरन्तरता दिँदै भोलि पनि वडाका अन्य टोलमा प्राविधिक टोलीसहित स्थलगत नापजाँच तथा लागत इस्टिमेट तयार गर्ने कार्य अघि बढाइनेछ।

वडा कार्यालयले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीयवासीको साथ, सहयोग र सकारात्मक सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै अभियानमा सहयोग गर्ने सम्पूर्ण टोलवासीप्रति आभार व्यक्त गरेको छ।

वडाभित्रका सडक पूर्वाधारलाई व्यवस्थित र स्तरीय बनाउने उद्देश्यसहित अघि बढाइएको यस अभियानले स्थानीय बासिन्दाको दैनिक आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x