१४ असार २०८३, आईतवार

पहिलो ६ महीनामा करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रियो

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार १३:२४ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ । चालू आवको साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको करीब आधा परिमाण वीरगञ्ज नाकाबाटै भित्रिन्छ ।

भन्सार कार्यालयका अनुसार ६ महीनामा ४७ अर्ब ८७ करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये २३ अर्ब रुपैयाँभन्दा बढीको डिजेल आयात भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए । गत आवको समीक्षा अवधिको तुलनामा डिजेल आयात ३ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण शुरूका केही महीना डिजेल आयात घटेकोमा असोज महीनादेखि आयात क्रमशः बढ्न थालेको भन्सारको तथ्यांक छ । अघिल्लो वर्ष शुरूको ६ महीनामा ४ लाख ९१ हजार किलोलिटर (केएल) यस्तो इन्धन भित्रिएकोमा यो वर्षको सोही अवधिमा ५ लाख ४ हजार केएल आयात भएको छ ।

भन्सारले चालू आवको ६ महीनामा उठाएको कुल राजस्वमध्ये डिजेलबाटै करीब २३ प्रतिशत आएको देखिन्छ । डिजेल आयातबापत नेपाल आयल निगमले वीरगञ्ज भन्सारमा मात्रै १६ अर्ब ६२ करोड रुपैयाँ राजस्व बुझाएको छ । यो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेको वीरगञ्ज भन्सारले बताएको छ । पेट्रोलको आयात घटे पनि भन्सारले उठाउने राजस्व भने बढेको छ । चालू वर्षदेखि डिजेल र पेट्रोल आयातमा लाग्ने राजस्व ह्वात्तै बढाएइकाले आयात घट्दा पनि राजस्व भने बढेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्य बताउँछन् ।

सरकारले चालू आवदेखि डिजेलको भन्सार दर प्रति केएल १२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो वर्षसम्म प्रतिकेएल डिजेलमा यस्तो राजस्व २ हजार रुपैयाँ मात्रै तिर्नु पर्दथ्यो । त्यस्तै पेट्रोलमा १५ हजार २०० रुपैयाँबाट २५ हजार २०० रुपैयाँ पु¥याइएको आचार्यले जानकारी दिए । यसका अलावा डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार विकास कर लाग्दछ । डिजेलमा २ रुपैयाँ र पट्रोलमा ४ रुपैयाँ प्रतिलिटरका दरले सडक मर्मत तथा सुधार शुल्क पनि तिर्नु पर्दछ ।

यो वर्ष हवाई इन्धनको आयात उल्लेख्य परिमाणले घटेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ केएल हवाई इन्धन आयात भएकोमा यो वर्षको सोही अवधिमा २६ हजार ११२ केएलमात्र भित्रिएको छ । कोरोना महामारीका कारण हवाई सेवा लामो समय ठप्प हुँदा इन्धन आयात घटेको भन्सारका अधिकारीहरू बताउँछन् ।

कोइलाको आयात भने उल्लेख्य बढेको छ । सिमेन्ट उद्योगको सहायक कच्चा पदार्थको रूपमा प्रयोग हुने कोइलाको आयात ५८ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । ६ महीनामा ४ लाख ८ हजार मेटिकटन (मेटन) कोइला भित्रिएको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्ममा २ लाख ५७ हजार मेटन कोइला आयात भएको थियो । स्वदेशी बजारमा सिमेन्टको माग कम भए पनि अहिले भारतमा कोइलाको भाउ घेटकाले केही उद्योगले ठूलो परिमाणमा भिœयाएका छन् । कोइलाको भाउ घटेको र सिमेन्टमा नयाँ लगानी थपिएकाले आयात बढेको आयातकर्ता माधव राजपाल बताउँछन् । वीरगञ्ज नाकाबाट मोबिल, बिटुमिन, फर्नेस  आयल, बेस आयल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि भित्रिएको छ । अभियान बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x