बाँकेमा पनि उम्मेदवारहरुको चर्चा शुरु
नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसंगै वडा तहदेखि केन्द्रसम्मै उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ । पछिल्लो कार्यतालिका अनुसार साउन १२ गतेदेखि तल्लो तहबाट अधिवेशन शुरु हुनेछ । वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा १४औं राष्ट्रिय महाधिवेशन आयोजना हुने कार्यतालिका छ ।
बाँकेमा पनि उम्मेदवारहरुको चर्चा शुरु भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको विरासत बोकेको जिल्ला भएर पनि बाँकेको चर्चा बढी हुन्छ । यहाँ कसले जिल्लाको नेतृत्व लिन्छ भन्ने विषयले केन्द्रैसम्म महत्व पाउने गर्दछ । जिल्ला सदरमुकाम नेपालगन्ज साविकको मध्य र सुदुरपश्चिमको ‘ट्रान्जिट’ भएको कारण पनि बाँकेलाई चासोको दृष्टिले हेरिन्छ ।
यो पटक जिल्लाको नेतृत्व लिन झण्डै एक दर्जन नेता दौडमा छन् । अघिल्लो जिल्ला अधिवेशनमा पनि चार जनाले प्रतिष्पर्धा गरेका थिए । किरण कोइराला, निरन्जनसिंह सिजापति, नारायण प्रसाद गौडेल र लक्ष्मी नारायण शाह चुनावी मैदानमा थिए । तर, पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पु¥याउन नसकेपछि दोस्रो राउण्डमा सभापतिमा किरण कोइराला र निरन्जनसिंह सिजापतिबीच प्रतिष्पर्धा भएको थियो । किरण कोइरालाले सभापतिमा बाजी मारिन् ।
अहिले चर्चामा रहेका नाम मध्ये कुर्मी, हमाल, बर्मा, सिजापति र शाह देउबा निकट हुन् भने पौडेल, राणा र गौडेल संस्थापन इतरका नेता हुन् । सभापति देउवा पक्षीय उम्मेदवार बढी भएका कारण बाँकेमा देउवा पक्षलाई उम्मेदवार टुंग्याउन सकस हुने देखिन्छ । तर, संस्थापन इतर समूहमा भने कम दावेदारी देखिएको छ ।
अहिले अघिल्लो अधिवेशनमा प्रतिष्पर्धा गरिसकेका तीन जनासंगै अन्यको पनि कांग्रेस बृत्तमा चर्चा छ । कति त आन्तरिक तयारीमा जुटिसकेका पनि छन् । अघिल्लो प्रतिष्पर्धामा उत्रेका सिजापति, गौडेल र शाहले यस पटक पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनीहरु फेरि लड्ने ‘मुड’मा छन् । यी बाहेक १२औं महाधिवेशनमा पूर्व सभापति स्वर्गीय अरुण कोइरालासंग प्रतिष्पर्धा गरेका राजकुमार बर्माको पनि चर्चा छ । पार्टी जिल्ला सचिव युवा नेता तप्त पौडेललाई पनि सभापतिका सशक्त दाबेदारका रुपमा हेरिएको छ । अहिलेका जिल्ला कार्यसमितिका उपसभापति सुनिलनरसिंह राणा पनि सभापतिमा उठ्ने चर्चा छ ।
संविधानसभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेशका सांसद् सुरेन्द्र हमाल पनि उम्मदेवार बन्ने चर्चा छ । कता कता वर्तमान सभापति कोइराला ‘रिपिट’ हुने गाइँगुइँ सुनिन्छ । तर, त्यो सम्भावना निकै कम रहेको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि औपचारिकरुपमा कसैले पनि ‘मुख’ खोलेका छैनन् । सबै ‘पर्ख र हेर’को रणनीतिमा देखिन्छन् ।
यी मध्ये को नेता केन्द्रमा कुन समूहमा नजिक छ भन्ने कुराले अन्तिम उम्मेदवारी निर्धारण हुने स्थानीय नेताहरु बताउँछन् । सुशील कोइराला जिवितै रहँदा बाँकेको राजनीतिमा उनको निर्णयलाई ‘क्रस’ गर्ने विरलै भेटिन्थे । असन्तुष्टि भएपनि हत्तपत्त विमति जनाइहाल्ने अवस्था थिएन । तर, अहिले ‘अभिभावकीय भूमिका’को अभाव हुँदा कसैले कसैलार्ई नटेर्ने अवस्था छ । यद्यपि केन्द्रको आफ्नो लाइनको ‘लाइन’ जसले पाउँछ उसले नै प्रतिष्पर्धा गर्ने सम्भावना बढी रहन्छ ।
अहिले चर्चामा रहेका नाम मध्ये कुर्मी, हमाल, बर्मा, सिजापति र शाह देउबा निकट हुन् भने पौडेल, राणा र गौडेल संस्थापन इतरका नेता हुन् । सभापति देउवा पक्षीय उम्मेदवार बढी भएका कारण बाँकेमा देउवा पक्षलाई उम्मेदवार टुंग्याउन सकस हुने देखिन्छ । तर, संस्थापन इतर समूहमा भने कम दावेदारी देखिएको छ । बागेश्वरीपोस्ट


