बाँके युनेस्को क्लबद्वारा ४० लाख बराबर स्वास्थ्य सामाग्री हस्तान्तरण
कोरोनाको संभावित तेस्रो लहरलाई मध्यनजर गर्दै युनेस्कोले प्लान इन्टरनेसनल नेपालको सहयोगमा आईतबार जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई सो सामाग्री हस्तान्तरण गरेको हो । क्लबका संरक्षक प्रबेज अली सिद्दिकी र प्लानका प्रतिनिधी जनक गिरीले संयुक्त रुपमा जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्रीहरुको बारेमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जानकारी गराउनु भएको थियो । तुलाधरका अनुसार नेपालगञ्जमा रहेको भेरी अस्पताल र बाँकेका विभिन्न ८ वटा स्थानीय तहहरुका लागि प्रदान गरिएको ४० लाख रुपियाँको सो स्वास्थ्य सामाग्रीमा ८० हजार मास्क, ६ वटा अक्सिजन कन्सन्टेटर, ४० वटा अक्सिजन सिलिन्डर, ६४० एन ९५ मास्क, ५०० एमएलका १२४८ पिस हेन्ड सेनिटाइजर, १२५० वटा फेसशिल्ड, ३ हजार ग्लोभ्स, ५ सय एन्टिजेन टेस्ट किट, २ सय अक्सिमिटर, ५०० सेट पिपीई लगायत सामाग्री रहेका छन् ।

प्लान इन्टरनेसनल नेपालका प्रतिनिधी जनक गिरीले सरकारको एक्लो प्रयासले मात्र कोरोना संक्रमणलाई परास्त गर्न नसक्ने उल्लेख गर्दै यो सबैको साझा दायित्व भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गेलालले यस्तो प्रकारको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाही, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, क्लबका सह निर्देशक साजिद अली सिद्दिकी, समितिका सुचना अधिकृत रुपन ज्ञवाली, क्लबका सल्लाहकार सिराज खान लगायतको पनि उपस्थिती रहेको थियो ।


