भारतको बिहार राज्यमा ६ रुपैया प्लास्टिक फोहोरले पेट्रोल र डिजेल तयार
१९ गते कात्तिक २०७८ । भारतको बिहार प्रदेशको मुजफ्फरपुरमा भारतमै पहिलो प्लास्टिकबाट पेट्रोलियम प्लान्ट सुरु भएको छ । जम्मा ६ रुपैयाँ भारुको प्लास्टिकले ७० भारु रुपैयाँको डिजेल–पेट्रोल बनाउँने जानकारी दिएको हो । मुजफ्फरपुरको कुधनीको खरोनामा प्लास्टिकको फोहोरबाट डिजेल-पेट्रोल बनाउने प्लान्टको राज्य सरकारका भूमि सुधार मन्त्री रामसुरत रायले उद्घाटन गरेका थिए । मन्त्रीले प्लान्टबाट बनेको १० लिटर डिजेल समेत किनेका थिए । प्लाष्टिकको फोहोरबाट डिजेल–पेट्रोल बनाउने प्रक्रिया बुझ्न मानिसहरुले उत्साह देखाएका थिए भने गाउँलेहरुको भीड लागेको थियो ।
फोहोरबाट डिजेल–पेट्रोल बनाउने यो भारतकै पहिलो प्लान्ट भएको हो । ग्रेभिटी एग्रो एन्ड इनर्जीको रेखदेखमा निर्माण गरिएको हो । प्लान्टका संस्थापक तथा ग्रेभिटी एग्रो एन्ड इनर्जीका प्रमुख कार्यकारी अधिकृत आशुतोष मंगलमले दैनिक १५० लिटर डिजेल र १३० लिटर पेट्रोल उत्पादन हुने बताए । यसको विधिबारे व्याख्या गर्दै फोहोरलाई ब्युटेनमा परिणत गरी आइसोअक्टेनको रूप दिने बताइएको छ । यसपछि आवश्यक तापक्रममा आइसो अक्टेनलाई डिजेल र पेट्रोलमा परिणत गरिनेछ। यसको सफल परीक्षण देहरादुनस्थित इन्डियन इन्स्टिच्युट अफ पेट्रोलियमले पनि गरेको छ । महानगरपालिकाबाट प्रतिकिलो ६ रुपैयाँ फोहोर खरिद गरिन्छ । यसलाई बनाउन कुल ८ घण्टा लाग्छ। डिजेल र पेट्रोलमा अक्टेन मूल्य बढी भएकाले माइलेज पनि बढी दिन्छ । भारतमा अहिले पेट्रोल र डिजेलका कच्चापदार्थ अरब देशहरू बाट खरिद गरि फिल्टर गरिने गरिएको छ । भारतमा आयात हुने पेट्रोलियम पदार्थ नेपाल र अन्य मुलुकहरूमा सप्लाई हुने गरेको छ । अब फोहोर बाट उत्पादन हुने बिधीको बिकास भएको कारण यसका उपायहरु नेपालले पनि शुरु गर्नु आवश्यकता रहेको छ ।


