१ आश्विन २०८३, बिहीबार

भारतीय क्राइम थ्रिलर ‘उदयपुर फाइल्स रोक्न ज्ञापन-पत्र

एसीपी संवाददाता

२७ असार २०८२, शुक्रबार १५:१४ मा प्रकाशित

भारतीय क्राइम थ्रिलर ‘उदयपुर फाइल्स : कन्हैयालाल टेलर मर्डर’ को नेपालमा प्रदर्शन रोक मुस्लिम समुदायले माग गरेको छ ।

मुस्लिम आयोगले फिल्मले देशको बहुधार्मिक एकता र शान्तिमा असर पार्न सक्ने भन्दै चलचित्र विकास बोर्डमार्फत सरकारलाई प्रदर्शन रोक्न आग्रह गरेको छ ।

 

आयोगले आफ्नो पत्रमा फिल्मले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अनादर गरेको, मुस्लिम समुदायका शैक्षिक संस्था र व्यक्तिहरूलाई गलत रूपमा प्रस्तुत गरेको, र हिन्दु–मुस्लिमबिच तनाव निम्त्याउन सक्ने दृश्य समावेश गरेको दाबी गरेको छ ।

“नेपाल सधैँ धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरण बनेको छ,” पत्रमा लेखिएको छ, “यो फिल्मले हाम्रो साझा मूल्यहरूलाई चुनौती दिन सक्छ । हामी सरकारसँग यो फिल्म नेपालमा रिलिज नहोस् भनी तत्काल कदम चाल्न माग गर्छौँ।

बोर्डका अध्यक्ष दिनेश डिसीले मुस्लिम आयोगको पत्र प्राप्त भएको र यस विषयलाई गम्भीरतापूर्वक हेरिएको बताए । “हामीले आयोगको चिन्तालाई ध्यानमा राखेका छौँ । फिल्म प्रदर्शनको अवस्था आएमा आवश्यक कदम चालिनेछ,” उनले भने ।

उता, भारतमा फिल्म शुक्रवारदेखि सिनेमा घरमा आइसकेको छ । निर्देशकद्वय एस श्रीनात र जयन्तसिंहले बनाएको फिल्म अमित जानीको निर्माण र रिलायन्स इन्टरटेनमेन्टको वितरणमा बनेको हो ।

सन् २०२२ मा भारतको राजस्थान राज्यस्थित उदयपुरमा भएको दर्जी कन्हैया लालको हत्याको वास्तविक घटनालाई आधार बनाएर बनेको फिल्मले नुपुर शर्मालाई समर्थन गरेको सामाजिक सञ्जाल पोस्टको बदलामा हत्या भएको कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने बुझिएको छ ।

नेपालमा फिल्मको सम्भावित प्रदर्शनले सामाजिक सञ्जालदेखि सडकसम्म बहस सिर्जना हुन सक्ने  । धार्मिक संवेदनशीलता र सामुदायिक एकताको रक्षा गर्नुपर्ने माग एकातिर छ भने अभिव्यक्ति स्वतन्त्रता र कला–संस्कृतिको सीमाबारे प्रश्न अर्कोतिर ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x