१९ कार्तिक २०८३, बुधबार

भेरी यातायातको ‘गौरी पुत्र’ सुपर डिलक्स बसबाट नेपालगञ्ज–काठमाडौं दिवा सेवा सुरु दैनिक बिहान ५:१५ बजे नेपालगञ्जबाट बस छुट्ने, यात्रुलाई आरामदायी र सुरक्षित यात्राको सुविधा दिने लक्ष्य

एसीपी संवाददाता

१९ कार्तिक २०८३, बुधबार २२:०९ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, कात्तिक १८ — भेरी यातायात प्रालिले नेपालगञ्जदेखि काठमाडौंसम्म ‘गौरी पुत्र’ सुपर डिलक्स बसमार्फत दिवा सेवा सञ्चालनमा ल्याएको छ। यात्रुलाई आरामदायी, सुरक्षित तथा सुविधासम्पन्न यात्रा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको उक्त सेवाको बुधबार बिहान विशेष कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।

नयाँ बस सेवाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव टंकप्रसाद बस्यालले रिबन काटेर गर्नुभएको थियो। सेवा सञ्चालनमा आएसँगै अब ‘गौरी पुत्र’ सुपर डिलक्स बसले दैनिक रूपमा नेपालगञ्ज–काठमाडौं रुटमा यात्रु सेवा प्रदान गर्नेछ।

भेरी यातायात प्रालिका अनुसार बस प्रत्येक दिन बिहान ५:१५ बजे नेपालगञ्जबाट काठमाडौंका लागि प्रस्थान गर्नेछ। आधुनिक प्रविधि र सुविधासम्पन्न संरचनासहित सञ्चालनमा ल्याइएको बस सेवाले नेपालगञ्ज सहित आसपासका क्षेत्रका यात्रुलाई दिवा यात्रामा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव टंकप्रसाद बस्यालले यातायात क्षेत्रमा यात्रुको सुविधा, सुरक्षा र सेवाको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले नयाँ बस सेवा सञ्चालनले नेपालगञ्ज–काठमाडौं यात्रालाई थप सहज, व्यवस्थित र सुविधा जनक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।भेरी यातायात प्रालिका कोषाध्यक्ष प्रमोद धितालले यात्रुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै ‘गौरी पुत्र’ सुपर डिलक्स बसमार्फत दिवा सेवा सुरु गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यात्रुहरूलाई सुरक्षित, आरामदायी र गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो। नयाँ सेवाले नेपालगञ्जबाट काठमाडौं जाने यात्रुलाई थप सहजता प्रदान गर्ने विश्वास लिएका छौँ।”

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह कोषाध्यक्ष शोभाखर पौडेल, बागेश्वरी यातायातका अध्यक्ष मन प्रसाद आचार्यलगायत स्थानीय यातायात व्यवसायी, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपालगञ्ज–काठमाडौं रुटमा दिवा बस सेवा थपिएसँगै यात्रुका लागि यात्रा गर्ने अर्को विकल्प उपलब्ध भएको छ। यसले यात्रुको समय व्यवस्थापन, यात्राको सहजता र यातायात सेवाको गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x