आफू संस्थापक अध्यक्ष रहेको ग्रामिण विकास केन्द्र (रूडुक) संस्थाको परियोजना मधेशमा केन्द्रीत गराएकी आरजुले मधेशलाई उच्च प्राथमिकतामा राखेर बालबालिकामा हुने कुपोषण न्यूनीकरणका लागि सक्रियता लिएकी हुन् ।
कुपोषण अन्त्य महाअभियानमा प्रत्यक्ष सहभागिता जनाउन आरजु मधेशको राजधानी जनकपुर आइपुगेकी छन् ।
सोमबार जनकपुरमा कुपोषणसम्बन्धी अन्तरक्रियामा भागसमेत लिएकी छन् । अन्तरक्रियामा सक्रियतापूर्वक सहभागिता जनाएकी नेतृ राणाले अन्तिममा भनिन्, `मधेसकोकुपोषण अन्त्यका लागि यो खालको डाइलग र चारबुँदे घोषणापत्र जारी गर्न सकियो । धेरै लामो सपना पूरा भयो । यो महत्त्वपूर्ण छ ।´
यसलाई सुरूवात भन्दै आरजुले अझै चुनौती कायमै रहेकोबताइन् । `हाम्रो लक्ष्य समाजवाद हो। यो भनेको देशलाई धनी बनाउने हो । तर त्यो धन सबै जनतामाझ पुर्याउने र जनता धनी बन्ने हो । यो नीतिमा हामी अगाडि बढिरहेका छौं,´ उनले भनिन्, `गाँस बास र कपास मानिसको आधारभूत कुरा हो । यसकोग्यारेन्टी गर्न सक्नुपर्छ । बच्चाले राम्रो खान पायो भने समाज, देश र सबैकोविकास हुनसक्छ ।´
मधेश सरकारले मातृ र बाल मृत्युदर घटाउन विभिन्न कार्यक्रम ल्याएको भन्दै यो खुसीको कुरा भएको बताइन् । `११८ पालिका पूर्ण खोपयुक्त भइसकेको रहेछ । यसका लागि बधाई दिन चाहन्छु । बाँकी पनि छिट्टै पूरा हुने आशा गर्छु,´ उनले भनिन् ।
आरजुले अगाडि थपिन्, `मधेश सरकारमा टिम युवा छ । फोकस र प्रतिबद्ध टिम छ । उहाँहरूको भूमिका प्रभावकारी हुन्छ भन्ने विश्वास छ । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्यको हकलाई यो सरकारले स्थापित गर्छ जस्तो लाग्छ ।´
प्रदेश सरकारको प्रयास उपलब्धिमुलक रहेको भन्दै नेतृ राणाले संघ सरकारले पनि विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । `म पनि पहल गर्छु । संघ सरकारको पनि ध्यानाकर्षण गराउनेछु,´ उनले भनिन् ।
नेतृ राणाले आगामी दिनमा मधेश प्रदेशमा सुहारा कार्यक्रममा नछुटाउन अनुरोध पनि गरिन् । `स्वास्थ्य क्षेत्रको बजेटमा पनि संघ सरकारले प्राथमिकता दिनुपर्छ । मानव जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्छ,´ उनले भनिन् ।
नेतृ राणाले मधेस प्रदेशको विकास जरूरी रहेको बताइन् । `मधेस अनाजको भण्डारको हो, तर त्यो अनुसारको योगदान दिन सकेका छौं कि छैनौं ? कुपोषणमा पनि ध्यान दिन जरूरी छ । सबै क्षेत्र मिलेर लाग्यो भने प्रदेशको विकास सम्भव छ । मधेश प्रदेश र जनताको प्रगतिका लागि शुभकामना छ,´ उनले भनिन् ।
नेतृ राणाले मधेसमा स्तनपान घटिरहेकोमा चिन्ता व्यक्त गरिन् ।` यसमा गम्भीर हुन जरूरी छ । मैले सदनमा आवाज पनि उठाइरहेको छु,´ उनले भनिन् ।