नम्र बोली, कार्यकर्तामाझ लोकप्रिय शेखर आक्रामकताभन्दा पनि कुटनीतिक समाधानमा विश्वास गर्छन् । जहाँ पनि मध्यमार्ग लाइन लिन्छन् । त्यसैले पार्टीभित्र उनको स्वीकार्य बढ्दै गएको छ । झण्डै सर्वस्वीकार्यको स्थितिमा आफूलाई उभ्याउन खोजिरहेका छन् । कोइराला परिवारको उत्तराधिकारीको रुपमा अहिलेका सभापति शेरबहादुर देउवाले समेत शेखरलाई अपनाएका छन् ।
पार्टीभित्र अन्य गुटमा पनि शेखरको प्रभाव छ । गिरिजाप्रसाद कोइराला सर्वशक्तिवान भएदेखि नै कोइराला परिवारको उत्तराधिकारी को हुने भन्ने प्रश्न रहिरह्यो, त्यसलाई अब शेखरले पूरा गर्दैछन् । खासगरी २०५३ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनदेखि कोइराला परिवारको राजनीतिक उत्तराधिकारीका सन्दर्भमा कांग्रेसका आमकार्यकर्तामा चासो देखिएको थियो । जुनबेला गिरिजाप्रसाद कोइराला सभापति पदमा चुनाव लड्दै थिए र उनको जित सुनिश्चित बनिसकेको थियो ।
२०५३ सालको नवौ महाधिवेशनमा नेपाली कांग्रेसले पहिलो पटक पाँच जना निर्वाचित केन्द्रिय सदस्य रहने व्यवस्था गरेको थियो । हरेक विकास क्षेत्रबाट एक एक जना निर्वाचित हुने प्रावधान विधानमा राखिएको थियो । जसअनुसार सुदुरपश्चिम विकास क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निर्विरोध निर्वाचित भए ।
मध्यपश्चिम विकास क्षेत्रमा कोइराला प्यानलबाट सुशील कोइराला र चिरिन्जीवी वाग्ले प्यानलबाट पूर्णबहादुर खड्काले प्रतिस्पर्धा गरे । सुशील कोइराला निर्वाचित भए । पश्चिमाञ्चल विकास क्षेत्रबाट रामचन्द्र पौडेल र रामकृष्ण ताम्राकारले प्रतिस्पर्धा गरे । तत्कालीन प्रधानमन्त्री देउवा र चीरन्जीवि वाग्ले प्यानलको साथ पाएका पौडेलले चुनाव जिते । यसैगरी मध्यमाञ्चल विकास क्षेत्रबाट कोइराला प्यानलका भीमबहादुर तामाङ र वाग्ले प्यानलका बिमलेन्द्र निधिबीच प्रतिस्पर्धा भयो । तामाङले चुनाव जिते । पूर्वाञ्चलमा भने त्रिपक्षीय भीडन्त देखियो ।
कोइराला प्यानलबाट विजयकुमार गच्छदार र प्रकाश कोइराला प्रतिस्पर्धामा होमिए भने वाग्ले प्यानलबाट मणी लामाले प्रतिस्पर्धा गरे । चुनाव गच्छदारले जिते । २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा कोइराला परिवारको भावी उत्तराधिकारीका रुपमा सुशील कोइराला र प्रकाश कोइरलाको उदय भयो भने शैलजा आचार्य रिङ आउट भइन् । यद्यपी शैलजा आचार्यलाई पनि उत्तराधिकारीका रुपमा गणना गर्न त्यतिबेलासम्म छाडिएको थिएन । पोखरामा भएको दशौं महाधिवेशनमा भने कोइराला परिवारको उत्तराधिकार प्रतिस्पर्धाले नयाँ मोड लियो ।
दोस्रो पटक सभापतिको उम्मेद्वार बन्दै गरेका गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई केन्द्रिय सदस्यको उम्मेद्वार बनाउने प्रयास गरे । यो प्रयासपछि शैलजा आचार्य र प्रकाश कोइरालाले विद्रोहको चेतावनी दिए । कोइराला परिवारको यो द्वन्द महाधिवेशनमा स्थलमै सतहमा प्रकट भयो । सुशील कोइराला र सुजाता कोइराला एकातिर भए भने अर्कातिर शैलजा आचार्य र प्रकाश कोइराला भए । अन्तिम अवस्थामा छोरी सुजाताको उम्मेद्वारी फिर्ता गराएर गिरिजाप्रसाद कोइरालाले पारिवारिक द्वन्द साम्य पारे ।
१८ जना सदस्यका लागि भएको उक्त निर्वाचनमा प्रकाश कोइराला र शैलाजा आचार्यले सर्वाधिक भोट ल्याएर चुनाव जिते । सुशील कोइराला १४ औं नम्वरमा परे । यो मत परिणमले कोइराला परिवारको उत्तराधिकार प्रकाश र शैलजामध्ये एक जनामा जाने अनुमान धेरैले गरे । तर ११ औं महाधिवेशनसम्म नपुग्दै राजनीतिले काँचुली फेर्यो । प्रकाश कोइराला र शैलजा आचार्य नेपाली कांग्रेसबाट पलायन भए । उनीहरुको पलायनपछि सुशील कोइरालाको उत्तराधिकार सुनिश्चित बन्यो । किनकी त्यतिबेलासम्म सुशील कोइराला दोस्रो कार्यकालका लागि महामन्त्री तथा पहिलो कार्यकालका लागि उपसभापति समेत भइसकेका थिए । त्यसपछि गिरिजा प्रसाद कोइरालाको होइन की, सुशील कोइरालाको उत्तराधिकारी को होला ? भन्ने प्रश्न सुरु भयो ।
११ औं महाधिवेशनमा डा. शशांक कोइराला र सुजाता कोइराला पहिलो पटक केन्द्रिय सदस्यपदमा निर्वाचत भए । अब कोइराला परिवारको विरासत सुजाता र शशांकमध्ये एउटाको हातमा जाने अनुमान गरियो । ११ औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पुग्दा नपुग्दै गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई उपप्रधानमन्त्रीसमेत बनाएर आफ्नो कित्ता क्लीयर गरे । यता सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा सुशील कोइराला रुष्ट बने ।
सुशील कोइराला शशांकलाई उत्तराधिकारी बनाउन चाहन्थे । १२ औं महाधिवेशनसम्म पुग्दा नपुग्दै गिरिजाप्रसाद कोइरालाको निधन भयो । १२ औं महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित भए । उनले शशांकलाई आर्शिवाद दिँदै गए, सुजाता खिलापमा लागिन् । १२ औं महाधिवेशनपछि सुजाता क्रमश छायाँमा पर्दै गइन् भने डा. शेखर कोइराला पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए । उमेर र राजनीतिमा सुजाता र डा. शशांकभन्दा शेखर सिनियर थिए ।
फिल्डमा खट्ने र कार्यकर्ताको पारख गर्ने विशेष खुवीका कारण छोटो समयमै डा. शेखरले सुजाता र शशांकलाई उछिने । डा. शेखरले क्याम्प परिवर्तन गरेरै भए पनि वा नयाँ प्यानल बनाएरै भएपनि महामन्त्री पदमा चुनाव लड्ने तयारी गरे । रामचन्द्र पौडेललाई लिएर उनी देश दौडाहमा समेत गए । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा सभापति कोइरालाको निधन भयो ।
कोइराला प्यानलको अन्तरिम उत्तराधिकार रामचन्द्र पौडेलले प्राप्त गरे । पौडेलले महामन्त्रीका रुपमा आफूलाई अघि सार्ने कुरामा डा. शेखर ढुक्क थिए । तर अन्तिम अवस्थामा पौडेलले डा. शशांकलाई महामन्त्रीको उम्मेद्वारका रुपमा अघि सारे । यो घटनाबाट रुष्ट बनेका डा. शेखर र पौडेलबीच दूरी बढ्दै गयो । शेखरले सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्य पदमा चुनाव जिते । त्यसको भोलिपल्टै देखि डा. शेखर १४ औं महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने तयारीमा होमिए । इतर पक्षमा स्पष्ट रुपमा दुई वटा समुह देखियो ।
रामचन्द्र पौडेलको एउटा समुह र डा. शेखरको अर्को समुह । यतिबेला १४ औं महाधिवेशन सकिएको पनि दुई वर्ष पुग्न लागेको छ । अब साढे दुई वर्षभित्र १५ औं महाधिवेशन हुनेछ । १५ औं महाधिवेशनमा सभापतिपदमा चुनाव जित्नका लागि शेरबहादुर देउवाको आर्शिवाद जरुरी हुन्छ भन्ने कुरा डा. शेखर र डा. शशांक दुवैले बुझेका छन् ।
किनकी इतर पक्षमा गगन थापा, विश्वप्रकाश शर्मा लगायतको छुट्टै टिम बन्ने लगभग निश्चित छ । अब कि त राजनीतिबाट पलायन हुने, होइन भने फेरी सभापति पदमा चुनाव लड्ने बाहेक डा. शेखरसँग अर्को विकल्प छैन । महामन्त्री गगन थापा सभापति देउवासँग सिधै द्वन्दको अभ्यासमा उत्रिइसकेका छन् । तर डा. शेखर द्वन्दको मनस्थितिमा देखिएका छैनन् । सभापति कमजोर हुँदा पार्टी कमजोर हुन्छ । पार्टी कमजोर हुँदा कार्यकर्ताको हैसियत पनि कमजोर हुन्छ भन्ने दृष्टिकोणसहित अघि बढेका डा. शेखरका केही गुनासा नभएका होइनन् । सभापति पदको उपविजेताको मर्यादाक्रमका सन्दर्भमा डा. शेखर सन्तुष्ट छैनन् ।
३६ औं मर्यादाक्रममा राखिएका डा. शेखरले केन्द्रिय समितिको पहिलो बैठक बहिस्कार गरेका थिए । त्यसपछि उनलाई २६ औं मर्यादाक्रममा राखिएको हो । नेपाली कांग्रेसको रोचक पक्ष के छ भने इतरपक्षका संगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा डा. शेखर कोइरालाको मर्यादाक्रम सभापति शेरबहादुर देउवापछि दोस्रो नम्वरमा रहने गरेको छ भने संस्थापन पक्षमा संगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा डा. शेखरको मर्यादाक्रम पूर्व सहमहामन्त्रीहरु भन्दा पनि तल रहने गरेको छ ।
डा. शेखर समय मिलेसम्म सबै कार्यक्रममा उपस्थित हुन चाहन्छन्, तर संस्थापन पक्षद्वारा आयोजित कार्यक्रममा उपस्थित हुन उनलाई मर्यादाक्रमले अफ्ठेरो पार्ने गरेको छ । यो गाँठो फुकाउन सभापति देउवाले प्रयत्न नगरेका होइनन् । तर विधानले अफ्ठेरो बनाएको छ । नेपाली कांग्रेसमा पछिल्लो केहि महिनादेखि रुपान्तरण अभियानका नाममा देशका विभिन्न क्षेत्रमा निरन्तर पार्टीका कार्यक्रम भइरहेका छन् । रुपान्तरण अभियानको सुरुवात शेखरकै सहमतिमा उनी पक्षीय नेताहरुले गरेको धेरैको दावी छ तर शेखर भने यस्ता कार्यक्रम पार्टीको वैधानिक संरचनाकै व्यानरमा हुनुपर्ने पक्षमा छन् ।
रुपान्तर अभियानका नाममा पार्टीको वैधानिक फोरमभन्दा बाहिरका कार्यक्रममा शेखर कोइराला सहभागी छैनन् । उनको भनाई छ, बरु पार्टीको वडा कमिटीकै व्यानरमा नाममा कार्यक्रम गरौं तर पार्टीमा हुँदै नभएको संरचनाका नाममा कार्यक्रम गर्दा यसले पार्टीलाई थप कमजोर बनाउँछ । विग्रहको अवस्था सिर्जना गर्छ । एक साता अघि काठमाडौंमा रुपान्तरण अभियानको व्यानरमा भएको कार्यक्रममा शेखर सहभागी भएनन् ।
नेपाली कांग्रेस रुपान्तरण अभियान आयोजक रहेको कार्यक्रमलाई शेखरले बहिस्कार गरेका हुन् । शेखरको उक्त कदमलाई पार्टीका संस्थापन पक्षका नेता कार्यकर्ताहरुले प्रशंसा गरेका छन्। उनीहरुले शेखर गुटभन्दा माथि उठ्न खोजेको रुपमा अर्थ्याएका छन् । नेपालपाना