२६ श्रावण २०८३, मंगलवार

मेची देखी महाकाली सम्म चीनको सिमा अतिक्रमण यस्तो छ (भिडियो र प्रमाण सहित)

एसीपी संवाददाता

२९ माघ २०८०, सोमबार ०९:३९ मा प्रकाशित

सन १९४९ सम्म तिब्बत स्वतन्त्र देश थियो । तत्कालीन समयमा नेपाल तिब्बतबीच कतिपय परिपूरक सम्बन्ध थियो कतिपय वस्तुको लागी तिब्बतको आवश्यकता नेपालले पुरा गर्दथ्यो भने कतिपय वस्तुहरू तिब्बत बाट लिने चलन थियो । नेपाली व्यवसायीहरू निर्बाध रूपमा तिब्बत गई व्यवसाय गर्ने गरेका थिए।

तर, सन १९५० मा चीनले तिब्बत आक्रमण गरी कब्जा गर्‍यो । देशको रूपमा रहेको तिब्बतको अस्तित्व सकियो उस्का आन्तरिक तथा बाह्य नीति सकियो र सो मिति देखी हाम्रो उत्तरी छिमेकी देश तिब्बत हैन कि चिन हुन पुग्यो ।

तिब्बत स्वतन्त्र देश रहुन्जेल सम्म तिब्बत सँग नेपालको केवल व्यवसायीक विवाद मात्र देखिएको थियो सिमा विवाद थिएन तसर्थ सन १९४८ सम्म नेपाल र तिब्बतको वास्तविक सिमा कुन हो भन्ने बारे ठोस प्रमाण देखिदैन तर नेपालका एक राजनैतिक पार्टीको आधारलाई प्रमाण मान्ने हो भने सन १९४८ सम्म सिगात्से मानसरोवर समेत नेपालले हक भोग गरि आएको थियो । तर चिनको आगमन पश्चात सिमा निर्धारण चिनले आफ्नो विवेक अनुसार गर्न थाल्यो।

चिन हाम्रो छिमेकी भए सँगै चीनले नेपाल तर्फको सिमाना निगरानी बढायो नेपाल तिब्बत बिच हुने व्यवसायलाई समेत चीनले नियन्त्रण गर्न थाल्यो ।

विक्रम सम्वत् २०१८ सालमा नेपाल चिन सीमा सम्झौता अनुसार चीनसँग नेपालको १ हजार ४ सय ३९ दशमलव १८ किलोमिटर लामो सीमा सम्बन्ध छ ।

नेपाल–चीनको सिमानामा (चीन–भारत–नेपालको त्रिदेशीय विन्दुबाहेक ) पश्चिमको लिपुधुरा भञ्ज्याङमा स्थापित सीमा स्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङमा रहेको सीमा स्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनसँग जोडिएको छ ।

चीनले ठुलै ठाउँ नखाँदा सम्म विवाद ल्याउन नचाहने नेपाली शैलीले गर्दा चीनले नेपालको भूमिमा पूर्वदेखि पश्चिम सम्म नै मन परि गर्ने गरेको धेरै उदाहरणहरू छन् तर सरकारी किताबमा बसेका केही उदाहरण चर्चा गरौँ ।

घटना १– दार्चुला: नेपालीका १८ घर चीनमा

दार्चुलाको जिउ जिउ भन्ने स्थानका १८ घर चिनियाँ अतिक्रमणमा परेका छन् । यो घटना केही समाचारहरूमा आएकोले यस बारेमा मानव अधिकार आयोगले समेत अध्ययन अनुगमन गरेको थियो । मानव अधिकार आयोगको प्रतिवेदन अनुसार ती घर पहिले नेपालमा भए पनि अहिले त्यो ठाउँ चीनले नियन्त्रणमा लिएको छ । र सो विषयमा नेपाली पक्ष मौन छ ।

घटना २– हुम्ला: नेपालबाट नहर बनाएर चीनमा पानी

नेपाल सरकारले गोप्य राखेको एउटा अध्ययन प्रतिवेदन अनुसार चीनले हुम्लाको किट खोला क्षेत्रमा नेपाली भूभागमा स्थायी नहर बनाएर दीर्घकालीन रूपमा पानीको मुहान नियन्त्रणको प्रयास गरेको थियो ।

त्यसबाहेक चिनियाँ पक्षले किट खोलाबाट कर्णाली नदीसम्म तार बार लगाएकाले त्यसलाई तत्काल हटाउनुपर्ने पनि प्रतिवेदनमा भनिएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोलीले गएको भदौमा हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सा सम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी शेरबहादुर देउवा नेतृत्वको सरकारबाट पाएको थियो।

घटना ३– मुस्ताङ: सीमा मिचेर चिनिया“ सेनाले बनायो पक्की संरचना

मुस्ताङमा चिनियाँ सेनाले सीमा मिचेर पक्की संरचना बनाएको छ । स्थानीय नागरिक अगुवाका अनुसार चीनले पिलर नं. २४ लाई केन्द्रमा पारेर पक्की सडक र अन्य भौतिक संरचना निर्माण गरेर सीमा क्षेत्र घेरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म १६ ओटा सीमा स्तम्भ छन्।

नागरिक अगुवाहरूका अनुसार अहिले पनि ३३ नम्बर सीमा स्तम्भको पहिचान हुन सकेको छैन। एक स्थानीयले ३३ नम्बर स्तम्भ चिनियाँ सेनाले बेपत्ता पारिसकेको बताए। स्थानीयको दाबी अनुसार सडक बनाउँदा ५० देखि ६० मिटरसम्म सीमा मिचिएको छ। चीनले अहिले निर्माण गरेको संरचना पुरानो सीमा रेखामाथि नै रहेको उनीहरू दाबी गर्छन् ।

घटना ४– गोरखा: नेपाली गाउँ चीनमा
गोरखाको सिमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ हराएका छन् । ३५, ३७ र ३८ नम्बर स्तम्भ गोरखाको रुई गाउँ र तोम खोलामा पर्छन् । उत्तरी गोरखाको रुई गाउँ ६३ वर्षदेखि चीनको अतिक्रमणमा परेको छ ।

उक्त गाउँ ०१७ सालदेखि चीनको अधीनमा छ । रुई गाउँमा ७२ घर छन् । चीनले ३५ नं. सीमा स्तम्भ नेपालभित्र सारेकाले उक्त गाउँ चीनतर्फ परेको हो । त्यसमा नेपालका तत्कालीन नापी प्राविधिकको समेत कमजोरी रहेको सरकारी अधिकारी बताउँछन् ।

घटना ५– सिन्धुपाल्चोक: ११ हेक्टर भूमि मिचियो

०७२ सालमा कृषि मन्त्रालयको नापी शाखालाई उद्धृत गरेर सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार चीनले नेपालको ३६ हेक्टर भूभाग जमिन मिचेकोको तथ्याङ्क बाहिरिएको थियो । यद्यपि सरकारले भने यो तथ्याङ्क आधिकारिक नभएको बताएको छ। नापी शाखाले अध्ययन गरी ०७२ साउन ५ गते सरकारलाई बुझाएको प्रतिवेदन सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर र भोटेकोसीमा ४ हेक्टर जग्गा चीनले मिचेको उल्लेख छ।

घटना ६– रसुवा: चीनको नजर खोलामा, ४ ठाउँमा जग्गा कब्जा

०७२ सालमै कृषि मन्त्रालयको नापी शाखाले अध्ययन गरी ०७२ साउन ५ गते सरकारलाई बुझाएको प्रतिवेदनमा चीनले रसुवाको सान्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, जम्बु खोलामा ३ हेक्टर र लेम्दे खोलामा समेत अतिक्रमण गरेको देखिन्छ। तर, लेम्दे खोलामा कति भूमि मिचिएको छ भन्ने खुलाइएको छैन।

घटना ७– दोलखा: नक्साभन्दा फरक भूगोल

दोलखा जिल्लाको विगु गाउँपालिकाको लाप्ची क्षेत्रमा रहेको सीमा चिह्न नम्बर ५७ लाई लिएर ठुलो समस्या छ । दोलखाको बिगु गाउँपालिका–१ को कोर्लाङ क्षेत्रमा रहेको ५७ नम्बरको सीमा स्तम्भलाई साबिक स्थान (कोर्लाङ क्षेत्रको टुप्पो) को सट्टा फेदमा करिब १५ सय मिटर तल नेपालतर्फ राखिएको छ। जसले यताको करिब ९९ रोपनी भूभाग चीनतर्फ परेको छ ।
नेपालको अन्तिम गाउँ लाप्ची हो। नापी विभागका भूतपूर्व अधिकारीहरूका अनुसार उक्त गाउँबाट करिब डेढ–दुई दिन हिँडेर पुगिने पहरामा सीमा चिह्न लेखिएको छ, तर त्यहाँ स्तम्भ छैन।

घटना ८– सोलुखुम्बु: ६२ नं. पिलर बेपत्ता, सगरमाथाको आधा क्षेत्र चीनले निल्यो

सोलुखुम्बुको नाम्पा भन्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ हराएको थियो। त्यसै ताका चीनले सगरमाथा आफ्नो भएको दाबी पनि गर्‍यो। सगरमाथाको विवाद समाधानपछि ६२ नम्बर पिलर पनि भेटिएको नापी विभाग स्रोतले बताएको छ।

घटना ९– संखुवासभाः किमाथांकामा चीनको बाँध, नेपाली गाउँ जोखिममा

चीनले सङ्खुवासभाको अरुण नदी सिमानामा पक्की संरचनासहितको तटबन्ध बनाएपछि नेपाली भूमि कटानको उच्च जोखिममा छ । कटानका कारण भोट खोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा परेको स्थानीयहरू बताउँछन्। गत वर्ष पनि त्यहाँ बाढीले वितण्डा मच्चाएको थियो।

किमाथांका–१ मा एक सय घर परिवार बसोबास गर्छन् । चीनपटी करिब १ किलोमिटर क्षेत्रमा आफ्नो चाँगा बजारको सिमाना सुरक्षित गर्ने गरी चीनले तटबन्ध बनाएको हो। चीनले तिङ गीसेनबाट रिउ हुँदै चाँगा बजारसम्म आउने सडक अरुण नदीलाई बाँध लगाएर निर्माण गरेको छ । त्यस क्षेत्रमा चीनले सन् २०१७ देखि बाँध निर्माण थालेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x