युक्रेनको बुचामा भएको रुसी आक्रमणको भारतले गर्यो आलोचना
एसीपी संवाददाता
२३ चैत्र २०७८, बुधबार १५:४८ मा प्रकाशित
एजेन्सी — युक्रेनमाथि रुसी आक्रमणबारे लामो समय मौन रहेको भारतले बुचामा भएको ‘नरसंहार’ को निन्दा गरेको छ । मंगलबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचामा सर्वसाधारणको हत्याको निन्दा गरेका हुन् । साथै उनले उक्त घटनाको स्वतन्त्र अनुसन्धान गर्न पनि माग गरेका छन् ।
युक्रेनमा मानवअधिकार संगठनले करिब ३ सय जनाको शव बुचास्थित एउटा चर्चको बाहिर भेटिएको जनाएको छ । बुचाका मेयर एनाटोली फेदोरुकले लगभग ३२० जनालाई कब्जामा लिई रुसी सेनाले हत्या गरेको दाबी गरेका छन् । बीबीसीसँगको कुराकानीमा मेयर फेदोरुकले रुसी सेनाले कैयौँ व्यक्तिलाई हत्या गरेको आफ्नै आँखाले देखेको समेत दाबी गरेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने आक्रमणमा सर्वसाधारणलाई निशाना नबनाइएको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र भारतीय समकक्षी एस जयशंकरबीच भएको टेलिफोन वार्ताको केही बेरपछि बोलेका भारतीय राजदूत तिरुमूर्तिले बुचामा सर्वसाधारण मारिएका रिपोर्टहरू डरलाग्दा भएको बताएका हुन् । ‘बुचामा सर्वसाधारणहरूको हत्या भएका रिपोर्टहरू बीभत्स छन् । हामी यस्ता हत्याको स्पष्ट रूपमा आलोचना गर्छौं,’ राजदूत तिरुमूर्तिले भने ।
अमेरिकाले भारतसँग फेब्रुअरी २४ देखि युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्न आग्रह गर्दै आएको छ । सैन्य हतियारका लागि रुसमाथि निर्भर रहेको भारतले युक्रेन-रुस द्वन्द्व वार्तामार्फत समाधान गर्न आग्रह गर्दै आए पनि रुसको आलोचना भने गरेको थिएन । संयुक्त राष्ट्र संघमा रुसको आक्रमणबारे भएका मतदानमा समेत भारत अनुपस्थित हुँदै आएको छ । युक्रेन-रुस द्वन्द्व मामिलामा भारतले मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलन मिलाउन कूटिल नीति अपनाइएको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।
भारतमा नागरिक स्तरमा समेत ठूलो संख्याले रुसको समर्थन गर्दै आएका छन् । ट्विटरमा ह्यासट्याग आई स्ट्यान्ड विथ रसिया र ह्यासट्याग आई स्ट्यान्ड विथ पुटिन ट्रेन्डिङमा समेत रहेको थियो । डेनमार्कको रोसकिल्ड विश्वविद्यालय, अन्तर्राष्ट्रिय विकास अध्ययन विभागका उपप्राध्यापक सोमदीप सेनसुरुदेखि नै एसियामा अमेरिका र चीनको प्रभुत्वलाई कम गर्न भारतलाई रुसले आफूनिकट मुलुकका रूपमा नै हेर्दै आएको बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा रुसजस्तो ‘महाशक्ति’ को साथलाई भारतले पनि अवसरका रूपमा लिएको छ ।
सोभियत संघको पतनपछि रुसले भारतसँगको ‘विशेष सम्बन्ध’ मा जोड दिँदै आएको छ । सन् २००० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र तत्कालीन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीबीच ‘रणनीतिक साझेदारी घोषणापत्र’ मा हस्ताक्षर भएको थियो । त्यसको ठीक १० वर्षपछि दुई मुलुकबीच ‘विशेष तथा रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर भएको थियो ।
यही रणनीतिअन्तर्गत रुसले कश्मीर मामिलामा समेत भारतलाई समर्थन दिँदै बएको छ । सन् २०१९ मा मोदी सरकारले कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जाको प्रावधान(धारा ३७०) हटाउँदा विश्वका विभिन्न देशले आलोचना गरेका थिए । तर रुसले भने यसलाई भारतको आन्तरिक मामिलाको संज्ञा दिएको थियो ।