विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह


समाचार एजेन्सी १६ पुस, । मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गरी सरोकारवालासँग पर्याप्त छलफल पश्चात् कानून निर्माण गर्न आग्रह गरेको छ । आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरु अनुकूल कानुन निर्माण हुनेमा विश्वास व्यक्तसमेत गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा उल्लेखित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरु अनुकूल निर्माण हुनेमा आयोग विश्वस्त हुँदै सरोकारवालासँगको पर्याप्त छलफलपश्चात् प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्णउपभोग गर्न पाउने कानून निर्माण हुन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । संयुक्त राष्ट्र संघको मानव अधिकार समितिले साधारण टिप्पणी नं. ३४ मा विचारको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता मानिसको पूर्ण विकासको लागि अपरिहार्य सर्त भएको र लोकतान्त्रिक समाजको स्थापनाका लागि आधारस्तम्भको रुपमा रहने भएकाले संकटकालीन अवस्थामा समेत यो अधिकारमा बन्देज लगाउन नमिल्ने भनी ब्याख्या गरेको आयोगले सरकारलाई स्मरण गराएको छ ।मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विनाहस्तक्षेप आफ्ना विचारहरु राख्न पाउने अधिकारको सुनिश्चितता गरेको आयोगले जनाएको छ ।
