२० कार्तिक २०८३, बिहीबार

विद्यालयको शिक्षण सिकाइलाई प्रविधी संग जोडदै सुरक्षित भविष्य परियोजना

एसीपी संवाददाता

२० कार्तिक २०८३, बिहीबार ०८:४६ मा प्रकाशित

ठाकुरबाबा, बर्दिया | ४ नोभेम्बर २०२६ (१८ कात्तिक २०८३)
विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक तथा प्रभावकारी बनाउने उद्देश्यले सुरक्षित भविष्य परियोजनाअन्तर्गत शिक्षकहरूका लागि दुईदिने सूचना तथा सञ्चार प्रविधि (ICT) र डिजिटल शिक्षण सिकाइ एकीकरण सम्बन्धी तालिम बर्दियाको ठाकुरबाबामा सम्पन्न भएको छ। २०८३ कात्तिक १७ र १८ गते (३–४ नोभेम्बर २०२६) सञ्चालन भएको उक्त तालिममा परियोजना कार्यान्वयन भइरहेका सातवटा स्थानीय तह; बढैयाताल, गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा, राजापुर र गेरुवाका विभिन्न विद्यालयबाट ३६ जना शिक्षकहरूको सहभागिता रहेको थियो।
बालबालिका किशोर किशोरी तथा युवाहरुका लागि सुरक्षित भविष्य परियोजना अन्तर्गत आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्दै उपलब्ध डिजिटल स्रोत, सामग्री तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत कक्षाकोठाको शिक्षण सिकाइलाई थप गुणस्तरीय बनाउनु रहेको थियो।
तालिमका क्रममा शिक्षण सिकाइमा आईसीटीको आवश्यकता र महत्व, प्रविधिमा आधारित शिक्षण पद्धति, डिजिटल सिकाइका प्लेटफर्म तथा शैक्षिक सामग्रीको पहिचान र प्रयोग, कक्षाकोठामा प्रयोग गर्न सकिने डिजिटल उपकरण तथा स्रोतहरूको उपयोगलगायतका विषयमा सहजीकरण गरिएको थियो। त्यसैगरी, शिक्षकहरूलाई डिजिटल शैक्षिक सामग्रीको प्रयोग, प्रविधिमैत्री पाठयोजना निर्माण तथा विद्यार्थीकेन्द्रित र अन्तरक्रियात्मक सिकाइ गतिविधि सञ्चालनसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिमलाई केवल सैद्धान्तिक प्रस्तुतिमा सीमित नराखी छलफल, प्रदर्शन, समूहकार्य, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा समूहगत प्रस्तुतीकरणजस्ता सहभागितामूलक विधिबाट सञ्चालन गरिएको थियो। विशेषगरी शिक्षकहरूले आफूले अध्यापन गर्ने विषय र तहअनुसार आईसीटीमा आधारित पाठयोजना तयार गर्ने तथा डिजिटल सामग्रीलाई नियमित कक्षाकोठाको शिक्षण सिकाइमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गरेका थिए।
बदलिँदो शैक्षिक परिवेशमा सूचना तथा सञ्चार प्रविधिको उचित प्रयोगले शिक्षण सिकाइलाई सहज, रोचक र विद्यार्थीको सिकाइ आवश्यकताअनुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस तालिमबाट शिक्षकहरूले हासिल गरेका ज्ञान र सीपलाई विद्यालय तथा कक्षाकोठामा व्यवहारमा उतार्दै प्रविधिमैत्री र गुणस्तरीय शिक्षण सिकाइको अभ्यासलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाको गुणस्तरीय शिक्षा, संरक्षण, सहभागिता तथा समग्र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षकहरूको क्षमता विकास र शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु पनि परियोजनाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी महत्वपूर्ण प्रयासका रूपमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x