१६ भाद्र २०८३, मंगलवार

सुरक्षित भविष्य परियोजनाको सहकार्यमा बारबर्दियामा ५०० शिक्षकको पेशागत सिकाइ सञ्जाल निर्माण

एसीपी संवाददाता

१६ भाद्र २०८३, मंगलवार १२:२६ मा प्रकाशित

गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजनाको सहकार्यमा बारबर्दिया नगरपालिकाले नगरपालिकाभित्र कार्यरत करिब ५०० शिक्षकलाई समेट्दै तहगत तथा विषयगत शिक्षक रोस्टर (Professional Learning Network) गठन गरेको छ।
शिक्षकहरूबीच ज्ञान, सीप, अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई संस्थागत गर्दै सहकर्मीबाट सिक्ने संस्कृति विकास, शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल अघि बढाइएको हो।
बर्दियामा सुरक्षित भविष्य परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र बाँके युनेस्को क्लब (BUC) को संयुक्त पहलमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यान्वयन भइरहेको छ।
नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई उनीहरूले अध्यापन गर्ने तह तथा विषयका आधारमा समूहबद्ध गरी साझा पेशागत सिकाइ तथा विज्ञ मञ्चका रूपमा शिक्षक रोस्टर गठन गरिएको हो। यस सञ्जालमार्फत शिक्षकहरूले नियमित रूपमा आफ्ना अनुभव, सिकाइ, नवीनतम अभ्यास तथा शिक्षणका क्रममा देखिएका चुनौतीहरू साझा गर्दै सामूहिक रूपमा समाधान खोज्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रम नगरपालिकाका चारवटा क्षेत्रमा एकैसाथ समानान्तर रूपमा सञ्चालन गरिएको थियो, जहाँ प्रत्येक क्षेत्रमा १०० भन्दा बढी शिक्षकको सहभागिता रहेको थियो। नवगठित रोस्टरलाई आगामी दिनमा नियमित बैठक, सहकर्मी सिकाइ, विषयगत छलफल, विद्यालय तथा कक्षा अनुगमन, अनुभव आदानप्रदान र पेशागत सहयोगका लागि निरन्तर परिचालन गर्ने योजना रहेको छ।
शिक्षकहरूबीचको सहकार्य र पेशागत सिकाइलाई सुदृढ गर्दै प्रभावकारी शिक्षण विधि तथा नवीनतम अभ्यासहरूको आदानप्रदानमार्फत विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि र गुणस्तरीय शिक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, आवश्यकता अनुसार रोस्टरमा आबद्ध शिक्षकहरूलाई स्रोत तथा विज्ञ शिक्षकका रूपमा परिचालन गरी प्रभावकारी अभ्यासहरूलाई विद्यालयस्तरसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ।
यो पहल केवल शिक्षकहरूको समूह निर्माणमा सीमित नभई एक–अर्काबाट सिक्ने, असल अभ्यास साझा गर्ने र शिक्षाको गुणस्तर सुधारमा सामूहिक नेतृत्व गर्ने सशक्त पेशागत सिकाइ समुदाय निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो।
स्थानीय सरकार, विद्यालय, शिक्षक, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढाइएको यस पहलले बारबर्दियाको शिक्षा क्षेत्रमा दीर्घकालीन, सकारात्मक र दिगो परिवर्तनका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।
“सिक्दै, सिकाउँदै र सहकार्य गर्दै—गुणस्तरीय शिक्षाको साझा यात्रालाई अझ सशक्त बनाऔँ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x