१ आश्विन २०८३, बिहीबार

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

एसीपी संवाददाता

२६ मंसिर २०७९, सोमबार ०७:३४ मा प्रकाशित

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि खहरे हुँदै जरेवरसम्मको तीन किमी क्षेत्रमा महोत्सव हुने रेवानका अध्यक्ष एवं महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

उनले भने, “कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ, मौसम खुलेको छ, हिमाल हाँसेका छन्, पर्यटक लोभ्याउने यस मौसममा पर्यटनमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेका छौँ ।”

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, ‘वेटर रेस’, ‘टग अफ वार’ र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम रहने महोत्सवका सहसंयोजक वैभव पौडेलले बताए ।

महोत्सवमा करिब चार लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल सङ्घ पोखराले होटलका कोठामा २० प्रतिशत छुट दिने भएको छ ।  यसैगरी नेपाल पर्यटन बोर्डको सहयोगमा देशका सातवटै प्रदेशमा महोत्सवको प्रचारप्रसार गरिनेछ । महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।

रासस

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x