अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने चलचित्र ‘चिसो मान्छे’ को प्रदर्शन मिति सार्वजनिक
काठमाडौं | अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने चलचित्र ‘चिसो मान्छे’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आउँदो वर्ष २०७८ सालको भाद्र ११ गतेलाई चलचित्रको फाइनल प्रदर्शन मिति तय गरिएको हो ।
यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र कलाकार अर्पण थापाको मुख्य भूमिका रहने छ । यहीँ चलचित्रबाट स्वस्तिमाको दोश्रो पटक अर्पणसँग सहकार्य हुन लागेको हो ।
पछिल्लो पटक सफल चलचित्र ‘आमा’ निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन फागुनबाट सुरु हुने बताइएको छ।
यो चलचित्रलाई ‘लभ लभ लभ’ चलचित्र निर्माण गरेकी निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । स्वस्तिमाले यो चलचित्रको लागि १८ लाख पारिश्रमिक बुझेको खबर बाहिरिएको छ ।
निर्मात्री शर्मिला पाण्डेले स्वस्तिमाको भूमिका नै सशक्त भएको कारण पारिश्रमिक पनि त्यहि हिसाबको हुने बताएकी हुन् तर, उनले रकम नै तोकेर पारिश्रमिकको विषयमा अहिले नै खुलासा गर्न चाहिनन् ।
चलचित्र ‘चिसो मान्छे’ ले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथालाई यो चलचित्रमा उतार्न खोजिएको छ ।
यो चलचित्रको छायाँकन पनि दीपेन्द्र आफैंले गर्दै छन् । छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा हुने बताइएको छ । स्वस्तिमाले पनि यो चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिन आफूलाई तयारी पारिरहेको बुझिएको छ । सिनेसंचार



