अमेरिकालाई इरानको कडा धम्की
इरानको सेनाले अमेरिकी सेनाले हर्मुजको जलमार्गमा पुग्ने वा प्रवेश गर्ने प्रयास गरेमा आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्गबाट अलपत्र जहाज बाहिर निकाल्न परियोजना स्वतन्त्रता नामक नौसेना अभियानको घोषणा गरेपछि तेरानको चेतावनी आएको हो ।
ट्रम्पले अभियानको सञ्चालन आगामी केही घण्टामा सुरु हुने तय भएको बताएका छन् । इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने आफ्नो पछिल्लो १४बुँदे प्रस्तावमा वासिंटनको प्रतिक्रियाको मूल्यांकन गरिरहेको बताएको छ । ट्रम्पले तेहरानको प्रस्तावलाई ‘अस्वीकार्य’ भनेका थिए ।
अमेरिका–इरान युद्ध सुरु भएदेखि लगभग २० हजार नाविक र दुई हजार जहाज जलमार्गमा अड्किएका अन्तर्राष्ट्रिय समुद्री संगठनका प्रमुखले गत हप्ता भनेका थिए । तर, इरानी सेनाले जोड दिएको छ कि जलमार्गमा उसको नियन्त्रण रहन्छ र तेहरानले त्यहाँ प्रवेश गर्न खोज्ने कुनै पनि विदेशी सशस्त्र सेना (विशेषगरी आक्रामक अमेरिकी सेना) लाई आक्रमण गर्नेछ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानमाथि अमेरिका–इजरायल युद्ध एकतर्फी, अवैध र अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा भएको टिप्पणी गरेका छन् । युद्ध अवैध भएको अमेरिकी क्षेत्रीय सहयोगीलाई पनि थाहा भएको उनको भनाइ छ ।
तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बघाईले युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भाग लिने सबै देश जिम्मेवार भएको बताए । जर्मन चान्सलर फ्रेडरिक मर्जलगायत युरोपेली नेताले युद्धले महादेश र विश्वका लागि ठुलो मूल्य निम्त्याएको पुष्टि गरेका उनले बताए । नयाँपत्रीका



