बीजिङको ८० अर्ब युआन (झन्डै ११ अर्ब अमेरिकी डलर) लागतमा निर्मित डासिङ अन्तर्राष्ट्रिय विमानस्थल यसको ज्वलन्त उदाहरण हो। पाँच वर्षअघि भव्य रूपमा उद्घाटन गरिएको यो विमानस्थल अहिले रात परेसँगै विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको अस्थायी आश्रयस्थल बन्छ। कोही सोफामा सुतेका हुन्छन्, कोही रिलाइनिङ कुर्सीमा टेकेर निदाएका हुन्छन्, भने कोही आफ्नै सिरक-ओढना लिएर विमानस्थललाई आफ्नो अस्थायी बासस्थान बनाउँछन्। यीमध्ये धेरैजसो युवा रोजगारी खोज्दै आएका हुन्छन्, जसले होटलमा बस्ने खर्च धान्न सक्दैनन्। केही स्नातक तथा स्नातकोत्तर परीक्षाको तयारी गर्नेहरू छन्, भने केही प्रवासी मजदुरहरू सहरको संघर्षबाट थकित भएर आराम लिइरहेका छन्। विमानस्थल प्रशासनले उनीहरूको उपस्थिति देखे पनि, जबसम्म अव्यवस्था सिर्जना हुँदैन, उनीहरूलाई निकाल्ने प्रयास गर्दैन।
रोजगारी गुमेपछि विमानस्थलमा शरण
आजको यथार्थता निकै कठोर छ। पाँच वर्षअघि तीव्र गतिमा अवसरहरू बढिरहेका थिए, युवा पुस्ता ठूलो आशाका साथ राजधानी सहरहरूतर्फ आकर्षित भएका थिए। तर अहिले ती शिक्षित युवा कटौतिका कारण बाँच्नकै लागि पैसाको अत्यधिक बचत गर्न बाध्य छन्। डासिङ विमानस्थल मात्र होइन, ३ किलोमिटरको वरपर एउटा सानो आर्थिक क्षेत्रसमेत विकसित भइसकेको छ, जहाँ सस्तो होस्टलहरू, २४ घण्टा खुल्ने पसलहरू, लगेज भण्डारण सेवा तथा साना फार्मस्टेहरू उपलब्ध छन्।
हालै एक यात्रुले बीजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा रात बिताउने अनुभव लिएका थिए। उनले रातको समयमा टर्मिनल १ मा सयौं मानिसहरू निदाइरहेको देखे। कतिपय भुइँमै ओछ्यान लगाएर निदाएका थिए, भने कतिपय कफी सपहरूमा रातभर जाग्राम बसेका थिए। स्टारबक्स जस्तो क्याफेहरू मध्यरातसम्म भरिभराउ देखिन्थे, जहाँ कोही आफ्नो ल्यापटपमा काम गरिरहेका थिए भने कतिपय सिधै कुर्सीमा निदाएका थिए।
प्राविधिक कर्मचारीदेखि स्नातकसम्म— सबै बेरोजगार
यो समस्या केवल बीजिङसम्म सीमित छैन। ग्वाङझाउ बाइयुन विमानस्थल, चङ्दु सुआङलिउ विमानस्थल लगायतका प्रमुख विमानस्थलहरूमा पनि यही अवस्था छ। कतै सोफामा, कतै लामो बेन्चहरूमा, कतै भुइँमै निदाएका शिक्षित युवा तथा श्रमिकहरू भेटिन्छन्।
एकजना आईटी इन्जिनियर, जो पहिले बीजिङको एउटा प्रतिष्ठित प्रविधि कम्पनीमा काम गर्थे, २०२३ मा कम्पनीले गरेको कटौती (layoffs) का कारण जागिर गुमाए। आफ्नो गृहनगर वेन्जाउ फर्किएपछि उनले स्थानीय आईटी कम्पनीहरूले बीजिङको तलबको मात्र एक तिहाइ तलब दिने देखे। केही महिनासम्म रोजगार खोजेपछि, कुनै राम्रो अवसर नभएपछि उनी पुनः बीजिङ फर्किए। तर तीन महिना बितिसक्दा पनि सयौं आवेदन पठाउँदा, दर्जनौं अन्तर्वार्ता दिएपछि समेत कुनै राम्रो जागिर फेला परेन।
चीनको टेक उद्योगमा यस्तो घटना सामान्य हुँदै गएको छ। आईबीएमको बीजिङ अनुसन्धान केन्द्रले एकै पटक १,००० भन्दा बढी कर्मचारी हटायो। अलीबाबा, टेन्सेन्टजस्ता ठूला कम्पनीहरू पनि निरन्तर “संशोधन” (optimization)को नाममा कर्मचारी कटौती गरिरहेका छन्। रोजगार गुमाउनेहरू कम योग्यता भएका होइनन्; अधिकांश स्नातक छन्, धेरैसँग स्नातकोत्तर वा डाक्टरेट उपाधि छ। ताजा स्नातक भएकाहरू समेत बेरोजगार भइसकेका छन्।
अर्थतन्त्रमा लगानी घटेपछि नयाँ रोजगार सिर्जना बन्द
महामारीपछि विदेशी लगानी घट्दै गएको, चिनियाँ स्टार्टअपहरूको संख्या न्यूनतम बिन्दुमा पुगेको छ। अमेरिकामा चिनियाँ कम्पनीहरू सूचीबद्ध गर्न झन् कठिन बन्दै गएको, जसको कारण लगानीकर्ताहरू आफ्नो लगानी फिर्ता लिन असमर्थ छन्। परिणामस्वरूप, नयाँ स्टार्टअपहरू स्थापनाको गति सुस्त भइसकेको छ। २०१८ मा ५०,००० स्टार्टअप खुलेका थिए, जसले लाखौंलाई रोजगारी दिएको थियो। तर २०२३ सम्म आइपुग्दा, नयाँ स्टार्टअपको संख्या घटेर मात्र १,२०० मा सीमित भयो, जसले ९५% भन्दा बढी अवसरहरू नष्ट गर्यो।
कहिलेकाहीँ, रातभर विमानस्थलमा सुतेर बिहानैदेखि अन्तर्वार्ताका लागि दौडधुप गरिरहेका युवा देखिन्छन्। चीनको दोस्रो ठूलो अर्थतन्त्रको वास्तविकता भनेको— एकतर्फ अत्याधुनिक विमानस्थलहरू, अर्कोतर्फ त्यही विमानस्थलहरूमा रात बिताउन बाध्य शिक्षित युवा तथा श्रमिकहरूको संघर्षपूर्ण जीवन हो। नेपालपाना


