२३ श्रावण २०८३, शनिबार

अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार करिव ९ प्रतिशत घटयो

एसीपी संवाददाता

२८ माघ २०७७, बुधबार ०४:५२ मा प्रकाशित

अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार करिव ९ प्रतिशत घटाएको छ ।

मंगलबार अर्थमन्त्री बिष्णु पौडेलले बजेटको मध्यावधी समीक्षा गर्दै कुल विनियोजित बजेटमा ९१.१९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गर्नुभएको हो ।

यसअघि चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब ७८ करोड, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब ४ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८६ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।

बजेटको संशोधित अनुमान गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च, अनिवार्य नगद दायित्व, पूर्व सहमती दिइएका ठूला आयोजनाको संभावित दायित्वलाई मध्यनजर गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । 

अर्थमन्त्री पौडेलले निर्वाचन खर्चको आकार अझै तय नभएपनि निर्वाचन आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको बताउनुभयो । निर्वाचन खर्च मितव्ययी बनाइने समेत उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा एमसीसीका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री पौडेलले नयाँ संसदले नै यस बिषयको टुङ्गो लगाउने बताउनुभयो ।

त्यस्तै उहाले राजश्व संकलनको वैकल्पिक कार्ययोजना बनाउने बताउनुभयो । बाँकी अवधिको राजश्व संकलनको लक्ष्य हासिल गर्नेगरी राजस्व प्रशासनलाई पूर्ण रुपमा परिचालन गर्ने योजना मन्त्रालयको छ ।

 नगद प्रवाहको नियमित विश्लेषण गरी आवश्यकता अनुसार बजेटमा अनुमान गरिएको सीमाभित्र आन्तरिक ऋण परिचान गर्ने योजना रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।  यस्तै, कोभिड १९ का कारण गत वर्ष सम्पन्न हुन नसकी यस वर्ष मात्र सम्पन्न भएका आयोजनाहरुको दायित्व भुक्तानी गर्न प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x