२२ श्रावण २०८३, शुक्रबार

अवैध धन्दामा चिनियाँ तस्करको सञ्जाल !

श्रीमननारायण

३० श्रावण २०८०, मंगलवार ११:३१ मा प्रकाशित<

विगत एक-डेढ दशकदेखि पर्यटक भिसा, व्यापार भिसा र म्यारेज भिसामा नेपाल आउने धेरै जसो चिनियाँको अवैध क्रियाकलापलाई हेर्दा अब नेपाल आउने चिनियाँको गतिविधिमाथि व्यापक निगरानीको खाँचो महसुस भएको छ।

करिब एक क्वीन्टल सुन तस्करीमा संलग्न चिनियाँ अपराधिक गिरोहको कृत्यले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। नेपालमा चिनियाँ नागरिक सुन तस्करीको घटनामा संलग्न पाइएको यो पहिलो घटना होइन। यस्ता कयौं घटना भए र यो अन्तिम पनि होइन।

सुन तस्करी, कल वाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबार लगायतका अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल नेपालमा बढ्दै गएको छ। जसले गर्दा देशको अर्थतन्त्र मात्रै होइन राष्ट्रिय सुरक्षामासमेत चुनौती थपिएको छ। नेपालमा चिनियाँको अपराधिक सञ्जाल विस्तार हुनुमा हाम्रो पनि कमजोरी छ। उनीहरुलाई हामी निःशुल्क भिसा दिन्छौ।

नेपाल आएपछि कहा जान्छन्, के गर्छन्, केही मतलब गर्दैनौ ? जहा निगरानी कमजोर हुन्छ अपराध गर्न सहज हुन्छ। त्यो ठाउँलाई अपराधीले अखडा बनाउनु स्वभाविकै हो। हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल अपराधीको गतिविधि माथि रोक लगाउन सकेको छैन।

राज्य प्रणालीको कमजोरीले पनि चिनियाँको नेपालमा घुसपैठ बढेको छ। चिनियाँ गल्ती गर्नै सक्दैनन् भन्ने मानसिकताबाट नेपालका केही राजनीतिक दल र बुद्धिजीवी पनि ग्रसित छन् र चिनियाँको देवत्वकरण गरिदिएका छन्। नेपालमा फैलिदै गएको चिनियाँको अपराध सञ्जालमाथि रोक लाग्नु आवश्यक छ।

विगत केही समय यताका घट्नाको मात्रै चर्चा गर्ने हो भने पनि गत साउन १६ मा एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होङ होङ एयर चाइनाको विमानबाट चीन जाने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए।

बरामद रकमको श्रोत उल्लेख खुलाउन नसकेपछि उनलाई प्रहरीले अपराधिक गतिविधिको रकम नै भएको ठहर गरेका थिए। त्यसैगरी असार २७ मा चिनियाँ नागरिक लियाङजुङ पक्राउ परे। उनले नेपाली युवालाई थाइल्याण्डमा रोजगारीको प्रलोभनमा म्यानमार लगेर बन्धक बनाएका थिए।

सयौं नेपाली युवालाई चिनियाँ गिरोहले म्यानमारमा बन्धक बनाएर अनलाइन ठगीका काममा लगाउदै आएका छन्। यो अपराधमा सामेल दुई जना पक्राउ पनि परेका छन्। त्यसै गरी जाओ झिङ पिङ नाम गरेका एक जना चिनियाँ नेपालमा कल तथा एसएमएस वाइपासको धन्दा चलाउदै आएका थिए। उनलाई सहयोग गर्ने चिनियाँ नागरिक लि जेन र यु लान गिरफ्तारी पश्चात रिहा भए पनि मुख्य अभियुक्त हिरासत मै छन्।

विदेशी मुद्रा तथा हुण्डीको कारोवारमा सामेल फेङ चाङ वेन मलेसिया जान लाग्दा विमानस्थलबाट पक्राउ परे। अनलाइन व्यापारमा धेरै पैसा कमाउन सकिने लोभ देखाएर उनीहरुले धेरै नेपालीलाई ठगेका थिए। याङ लि मिङलाई गत फागुनमा बाल यौन दुरव्यवहारमा पक्राउ गरिएको थियो।

विद्युतीय चुरोट भित्र सुन लुकाएर तस्करी गरेको घटनाको छानविन प्रहरीले गरिरहेको छ। यसमा नेपालका केही प्रभावशाली नेताको पनि हात रहेको आशंका छ। २०७९ को वैशाखमा अध्यागमन विभागले २२ जना चिनियाँलाई पक्राउ गरेको थियो। अवैध कल सेन्टरबाट अपराधिक सञ्जाल चलाएको सूचनाको आधारमा तिनलाई पक्राउ गरिएको थियो तर राजनितिक दवाबमा छाडियो।

गत वर्ष जेठमा चार चिनियाँ नागरिक ती करोड ७९ लाख रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका थिए। सुन तस्करी वापत कै त्यो रकम भएको अनुमान छ। २०७८ को असारमा बाघको छालासहित ठमेलबाट पक्राउ परेको चिनियाँ समूहले अवैध जुवादेखि डलर तस्करी समेतका काम गर्दै आएका थिए।

विगतमा एटिएम ह्याकिङमा पनि चिनियाँ नागरिक पक्राउ परेका थिए। त्यस्तै अवैध डलर लैजान खोज्दा पनि पक्राउ परेका थिए। वन्यजन्तु सम्बन्धी अपराधमा पनि विगतमा धेरै चिनियाँ पक्राउ परिसकेका छन्।

विवाहको आवरणमा नेपाली युवतीलाई चीनमा तस्करी गरेको आरोपमा पनि पक्राउ परेका छन। नेपाल मै बस्न कतिपयले नेपाली महिलासँग बिहे गरेर म्यारिज भिसा लिएका छन्। उनीहरुसमेत अपराध जन्य क्रियाकलापमा सहभागी भएको देखिएका छन्।

उनीहरुले विजनेस भिजा लिएको र व्यापारको आवरणमा अपराधिक संजाल चलाउदै आएको देखिन्छ। विमानस्थलबाट मात्रै होइन तातो पानी र रसुवा नाकाबाट पनि उनीहरु सुन तस्करीमा पक्राउ परिसकेका छन्। २०७४ सालमा बरामद भएको ८८ किलो सुनका नाइके चिनिया नागरिक ठमेलको होटलमा बस्दै आएका थिए। कारवाही हुन लाग्दा उनी भागेका थिए।

चिनियाँ गिरोहले काठमाडौंमा सुरक्षाको दृष्टिकोणले संवेदनशील ठाउँका घरहरु भाडामा लिएर संगठित रुपमा सुन तस्करी, हुण्डीलगायत अपराधको संजाल चलाउदा पनि सुरक्षा निकायले थाहा पाउन सकेनन्।

गत साउन ३ गते तस्करीको करिब एक क्वीन्टल सुन बरामद भए पनि राजस्व अनुसन्धान विभागले राजधानीका अति महत्वपूर्ण एवम् संवेदनशील ठाउँमा चिनियाँ गिरोहको अखडा फेला पार्नुलाई सामान्य घटना मान्न सकिँदैन।

पक्राउ परेकामध्ये गिरोहको उच्च तहमा आवद्ध दावाछिरिङ ठमेलमा भियना होटल चलाउथे भने कपुरधारामा बङ्ला भाडामा लिएर बस्दै आएका थिए। सामान्य होटल चलाउने उनको जीवनशैली अर्बपति व्यापारीको जस्तो थियो। त्यस्तै तस्करी गिरोहमै संलग्न थुपतेन छिरिङ पानी पोखरीस्थित कम्फर्ट हाउजिङको अपार्टमेन्टमा ६० हजार भाडा तिरेर बस्दै आएको अनुसन्धान अधिकारीको दाबी छ।

चिनियाँ नागरिक जि क्वीङ लिन पनि त्यही पक्राउ परेका थिए। त्यस्तै एक चिनियाँ त धुम्बाराहीमा मासिक डेढ लाख भाडा पर्ने घरमा बस्दै आएका थिए। बालुवाटावरमा र नयाँबजारमा त उनीहरुले सुन लुकाउने गोदाम नै राखेका थिए।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८९/०८० मा ४२ जना चिनियाँ पक्राउ परेका छन्। संगठित अपराधमा चिनियाँको संलग्नतालाई चिन्ताको विषय मानिएको छ।

पर्यटक तथा विजनेस भिसामा लामो समयदेखि नेपालमा बस्दै आएका दर्जनौ चिनियाँ यस्तो अपराधमा संलग्न देखिनु दुर्भाग्यपूर्ण हो। सुन तस्करीमा एक चिनियाँ र चिनियाँ मुलका अन्य दुई विदेशी नागरिक पक्राउ परिसकेका छन्। अन्य नौ चिनियाँको पहिचान भइसकेको छ। दुई जना त चीन भाग्न लाग्दा विमानस्थलबाट हालै पक्राउ परेका हुन्।

भन्सारका कर्मचारीदेखि राजनितिक दलसम्म सम्बन्ध बनाएका उनीहरुले नेपाललाई कसरी अपराधको ट्रन्जिट बनाउन चाहेका छन, यसको पनि उजागर नेपाल प्रहरीले गरेको छ।

भनिन्छ, चीनमा गरिबी छैन, सम्पन्ता छ, त्यहाका जनता खुसी छन् तर नेपाल जस्तो आर्थिक रुपले कमजोर देशमा पर्यटक भिसा, बिजनेस भिसा र म्यारिज भिसामा आएर विभिन्न अपराधिक र अवैध कृयाकलापमा तिनको संलग्नता देख्दा चिनियाँहरु नेपाली भन्दा पनि गरिव र दरिद्र छन् भन्ने प्रमाणित हुन्छ।

नेपालका वामपन्थी र उग्र दक्षिणपन्थी नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर चीन र चिनियाँलाई देवत्वकरण गर्ने काम बन्द गर्नुपर्छ। चिनियाँहरुको नेपाल बसाइलाई सूक्ष्म रुपले निगरानी गर्नु आवश्यक भएको छ। खबरहब बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x