एमसीसी पास गर्नु नै नेपालको लागि फायदा हो – एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन नभए हरेक नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपाल अन्तराष्ट्रिय सम्बन्ध र अर्थतन्त्रमा गम्भीर संकट आउनसक्नेतर्फ सचेत गराएका हुन् ।
त्रिवि केन्द्रीय अर्थशास्त्र विभागको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायको खोजी’ विषयक अन्तरक्रियामा पाण्डेले नेपालले एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएमा आर्थिक संकट आउन सक्ने चेतावनी दिए । ‘नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आउनसक्छ । नेपालले एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएमा आर्थिक जोखिम र संकट आउन सक्छ,’ उनले भने ।
अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने पाण्डेको भनाइ छ । धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने दाबी गरे ।
एमसीसीबारे नेता पाण्डेले भने, ‘अहिले प्रसंगवश् आइरहेको एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ संकटतर्फ देश जाने होइन ? यसतर्फको अध्ययन अलिकति, तपाईँहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु । यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैंक, दक्षिण एसियाली बैंकले निश्चित सहयोग दिने गर्दछ । त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ । आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । भर्खरै ४८ अर्ब हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई फरेन्ट करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही व्यालेन्स गर्ने मद्दत गरिरहेको छ । तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन । नलिए पनि केही भएको छैन । तिमिले लिएनौ मैले दिन्नँ मैले अन्यत्र पनि बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने प्रश्न भएन । त्यसले ठूलो नोक्सानी कही हुँदैन । तर यहाँ नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्यौं ।’
उनले अफगानिस्तान, इराक लगायतका देशमा अमेरिका प्रवेश गर्दाको प्रसंग कोट्याउँदै नेपालले पनि अमेरिकी सहयोग अस्वीकार गर्दा उसले असहयोग गर्ने संकेत गरेका थिए । ‘पाँच वर्षे भिसालाई वेटीङ लिष्टमा राखिदिने । मैले सुन्दै छु, जर्मनीले तिमी अमेरिकाको पैसा लिँदैनौ । किन चाहियो हाम्रोबाट लोन भनेर रोक्न थाल्यो । एमसीसी नलिएको कुरा गर्दा । यसको के प्रभाव हुन्छ । करिब १५ देशबाट हामीले मेजर रुपमा रेमिटेन्स प्राप्त गर्छौं । यी सबै शक्ति कुनै न कुनै रुपले ग्लोबल पावर एक्सिसमा अमेरिका निकट अवस्थामा छन् । उसले नेपाललाई अलिकति मात्रै पनि नेपालतर्फको डिस्कोर्डेन्स रोकिदियो भने हामी संकटमा फस्छौं,’ पाण्डेले भनेका छन् ।


