१४ मंसिर २०८३, आईतवार

एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

एसीपी संवाददाता

२० आश्विन २०८०, शनिबार १६:४४ मा प्रकाशित

 हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।

यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।

उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अ‌ंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।

एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं  एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा  प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो । अनलाइनखबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x