काठमाडौंमा ६ दिने नेपाल–भारत रंग महोत्सव सुरु
काठमाडौँ —नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अयोजनामा काठमाडौंमा ६ दिने नेपाल–भारत रंग महोत्सव सुरु भएको छ । बुधबारदेखि सुरु भएको महोत्सवमा बिहीबार आख्यानकार नयनराज पाण्डे लिखित तथा निर्देशक दिया मास्के निर्देशित एक्टर्स स्टुटियोको प्रस्तुति ‘कथा कस्तुरी’ मञ्चन गरियो । जुन नयनराजको कथा ‘सर्पदंश’ को नाट्य रूपान्तरण हो ।
नाटकले नेपालको पश्चिम तराईका सपेरा जातिको जिन्दगीको कथा भन्छ । यसले एकातिर सपेरा जनजीवनका जटिलता उजागर गर्छ भने अर्कोतिर सपेरामाथि राज्यले गरेको फोहोरी राजनीतिको पनि फेहरिस्त प्रस्तुत गर्छ । निर्देशक मास्के भन्छिन्, ‘यो यस्तो नाटक हो, जुन नाटकमा जीवन भरिरहेका कलाकारको पहिलो पाइला हो ।’ महोत्सवको उद्घाटन भने सुनील पोखरेल निर्देशित नाटक ‘गच्छामी’ बाट भएको थियो ।
नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयको सहकार्य रहेको महोत्सव राष्ट्रिय नाचघर जमलमा चलिरहेको छ । महोत्सवको उद्घाटन सत्रमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले हजारौं वर्षदेखि नेपाल–भारतबीच कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको बताएकी थिइन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो पटक आयोजना भएको नेपाल–भारत रंग महोत्सवले दुई देशको सम्बन्धलाई गहिरो र प्रगाढ बनाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । त्यसैगरी राष्ट्रिय नाट्य विद्यालयका सेक्रेटरी प्रदीपकुमार महन्थीले सन् १९९९ देखि भारतव्यापी आयोजना हुँदै आएको महोत्सवको २६ औं संस्करणदेखि नेपाल र श्रीलंकामा समेत विस्तार गरेर अन्तर्राष्ट्रियकरण गरिएको बताए । ईकान्तिपुर / तस्बिर वरिष्ठ कलाकार , निर्देशक सुनिल पोख्रेल को समाजिक संजाल बाट




