४ असार २०८३, बिहीबार

कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा, आन्दोलन र निर्वाचनबारे गहन छलफल

एसीपी संवाददाता

५ आश्विन २०८२, आईतवार १०:३५ मा प्रकाशित

काठमाडौँ ।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बारे गहन छलफल भएको बताइएको छ। साथै, आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्न संवैधानिक मार्ग, र भविष्यको राजनीतिक स्थिरताबारे समेत व्यापक विचारविमर्श गरिएको छ।

दुवै नेताबीच कार्यगत सहकार्यलाई अझ सुदृढ गर्दै, क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीतिमा छलफल अगाडि बढाउने सहमति भएको छ। मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने साझा अठोट समेत व्यक्त गरिएको छ।नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका लागि वृहत् राजनीतिक शक्ति निर्माणको अपरिहार्यता औंल्याएका छन्।यस भेटघाटलाई राजनीतिक वृत्तले आगामी दिनमा नयाँ राजनीतिक समीकरण र शक्तिशाली वैकल्पिक मोर्चा निर्माणतर्फको संकेतका रूपमा लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x