४० सांसद रहेको एमालेका कार्कीले विश्वासको मत पाउने आधार भने देखिएको छैन । सोहीकारण कोशी प्रदेशमा संविधानको १ सय ६८ उपधारा ५ को मुख्यमन्त्री को होलान् भन्ने चासोको विषय बनेको छ । एमालेका कार्कीले विश्वासको मत पाउने सम्भावना सकिँदै जाँदा सरकार गठनको अन्तिम विकल्पमा प्रदेशसभा धकेलिने अवस्थामा पुग्ने देखिन्छ ।
संविधानअनुसार प्रदेश सरकार गठनको अन्तिम विकल्प धारा १ सय ६८ को उपधारा ५ हो । उपधारा ५ अनुसार अब सदनमा रहेका जुनसुकै सदस्यले समेत मुख्यमन्त्रीको दाबी गर्न पाउनेछन् । यसरी दाबी पेस गर्दा प्रदेश प्रमुखले विश्वासको मत पाउन सक्ने आधार देखेमा त्यस्तो सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न सक्छ । सर्वोच्च अदालतका अनुसार विश्वासको मत पाउन सक्ने अवस्थाकाे व्याख्या भनेकाे कुनै पनि सदस्यले कुनै सदस्यको पक्षमा बहुमत सांसदकाे हस्ताक्षर पेस गर्नु हो । तर, अहिलेसम्म कसलाई उपधारा ५ अनुसारको मुख्यमन्त्री बनाउने भनेर सत्तापक्षले सोचेकै छैन ।
प्रतिपक्षमा रहेको गठबन्धनले समेत कुनै निर्णय गरेको छैन । विपक्षी गठबन्धनमा भएका कांग्रेस, माओवादी, नेकपा एस र जसपामा कसले उपधारा ५ अनुसारको मुख्यमन्त्री लिने भन्ने अहिलेसम्म सहमति बनेको छैन । दुईदुईपटक कांग्रेस नेतालाई मुख्यमन्त्रीमा साथ दिएकोले उपधारा ५ अनुसारको मुख्यमन्त्री कांग्रेसबाहेकले पाउनुपर्ने माग गठबन्धन दलहरूभित्र उठ्दै आएको छ ।
त्यस्तो हुँदा, गठबन्धनमा कांग्रेसपछिको ठूलो दल माओवादीले मुख्यमन्त्री दाबी गर्ने पनि चर्चा छ । कांग्रेस र माओवादीलाई क्रस गर्दै नेकपा एकीकृत समाजवादीले भने गठबन्धनभित्र आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको अभियानको क्रममा इटहरीको कार्यक्रममा भेटिएका केन्द्रीय तहका एक नेताका अनुसार कोशीमा एसले मुख्यमन्त्री दाबी गरेको स्वीकार गरे ।
‘अहिले सहमति त भइहालेको छैन, तर अबको अवस्थामा भने कोशी प्रदेशको सवालमा हाम्रो पार्टीले नेतृत्व लिने कुरा भने चलिरहेको छ’, ती नेताले भने । हुन पनि नेकपा एस कोशी संसदीय दलका नेता राजेन्द्र राई र एमाले नेता शेरधन राईको भेट भएको विषयमा निकै चर्चा समेत चलेको थियो । दुई भोजपुरे नेताहरूको भेटले प्रदेश सरकारको राजनीतिमा तरंगसमेत सिर्जना गरेको थियो । तर, पछि एसका नेता राजेन्द्र राईले सञ्चारमाध्यममा शेरधन राईले सरकारमा आउने निम्तोसमेत दिएको र आफूहरूले अस्वीकार गरेको बताए थिए । जुन निम्तोले गठबन्धनमा समेत नेकपा एसले मुख्यमन्त्री पाउनुपर्छ भन्ने विषयले थप स्पेस पाएको छ ।
‘शेरधनजीले अहिलेको सरकारलाई सघाएर जाऊँ भन्ने प्रस्ताव गर्नुभयो, मैले त्यो सम्भावना छैन भनेँ’, भेटबारे राजेन्द्र राईले भनेका थिए, ‘उपधारा ५ मा मिलेर आलोपालो गरौँ भन्ने पनि उहाँको प्रस्ताव थियो । मैले त्यसबारे सोच्न सकिन्छ भनिदिएँ ।’
अहिलेको राजनीतिक समीकरणले कोशी प्रदेशमा उपधारा ५ को सरकार त बन्छ । मुख्यमन्त्री को बन्ने भन्ने पात्रको टुंगाे लागेर सहमति भए यो विकल्पअनुसार सरकारका लागि दाबी पेस गर्न अप्ठ्यारो भने देखिँदैन । तर, यही राजनीतिक समीकरणले उपधारा ५ को सरकार बने पनि टिक्न भने मुस्किल देखिन्छ । उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री भएको व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
४७ जना सांसद विपक्षी गठबन्धनमा पुगे पनि एमालेले विश्वासको मत हुनुपूर्व उपसभामुखलाई राजीनामा गराएमा र राप्रपाले समेत गठबन्धनलाई असहयोग गरेमा विपक्षी गठबन्धनको मुख्यमन्त्रीले समेत विश्वासको मत पाउन नसक्ने अवस्था बन्न सक्नेछ । त्यो अवस्था आए सरकार बन्ने अन्तिम विकल्प समेत सकिन्छ र प्रदेशसभा विघटन हुन सक्ने सम्भावना देखिन्छ । शिलापत्र